RayNewsDaily
सीरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनको माग : संयुक्त राष्ट्रसंघ   

जिनेभा । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टुर्कले सीरियाको दक्षिणी सहर स्वेइदामा पछिल्ला दिनहरूमा भएको हिंसात्मक झडपपछि गम्भीर चिन्ता व्यक्त गर्दै त्यसबारे स्वतन्त्र, छिटो र पारदर्शी छानबिनको माग गर्नुभएको छ । इस्लामी नेतृत्वको अन्तरिम सरकारले सेना फिर्ता बोलाएपछि स्वेइदाबाट सरकारी फौजहरू हटाइएका थिए । विभिन्न समूहबीचको झडपमा हालसम्म करिब ६ सय मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।    
    
झडपमा द्रुज समुदायका लडाकु, सुन्नी बेदुइन जातीय समूह, सरकारी फौज र उनीहरूका समर्थक संलग्न रहेको जनाइएको छ । टुर्कले मानवअधिकार कार्यालयमा प्राप्त विश्वसनीय विवरणहरूका आधारमा गैरन्यायिक हत्या, अपहरण, लुटपाट, निजी सम्पत्ति ध्वस्त पार्ने जस्ता कार्य भएको र यसबाट सर्वसाधारणमाथि गम्भीर असर परेको बताउनुभयो । १५ जुलाईमा भएको घटनामा एकै परिवारमाथि गोली प्रहार गरी १३ जनाको हत्या गरिएको र सोही दिन दुई अन्य घटनामा ६ पुरुषलाई गोली हानी मारेको पुष्टि भएको उल्लेख छ ।    
    
उहाँले भन्नुभयो, “राज्यका सुरक्षा संयन्त्रले डर फैलाउने होइन, जनताको सुरक्षा गर्नुपर्छ ।” इजरायली हवाई आक्रमणका कारण स्वेइदा, दारा र दमास्कसजस्ता स्थानहरूमा सर्वसाधारणको मृत्यु भएको रिपोर्ट पनि आएको छ । दमास्कसमा रहेको सैनिक मुख्यालयमाथि भएको आक्रमणबाट नागरिक र सार्वजनिक संरचनालाई समेत ठूलो जोखिममा पारिएको भन्दै टुर्कले यस्ता कारबाहीहरू तत्काल रोक्न आग्रह गर्नुभएको छ । यसअघि मार्च महिनामा सीरियाको समुद्री किनार क्षेत्रमा भएको आक्रमणमा पनि एक हजार ७०० भन्दा बढी अलावी समुदायका नागरिकको मृत्यु भएको थियो, जसको जिम्मेवारी सरकारसमर्थक समूहमाथि आएको थियो ।    
    
टुर्कले उक्त घटनाबारे समेत छानबिनको नतिजा सार्वजनिक गर्न आग्रह गर्दै भन्नुभयो,“यसरी निष्पक्ष र गहिरो अनुसन्धानमार्फत विगतका अन्यायहरूको जवाफदेही सुनिश्चित गर्नु आवश्यक छ ।” राष्ट्रपति बशर अल–असदको शासन पतनपछि देशमा लोकतान्त्रिक संक्रमणको आशा पलाएको अवस्थामा नयाँ नेतृत्वले मानवअधिकार, न्याय र समानताको रक्षा गर्दै अघि बढ्नुपर्ने जिम्मेवारी रहेको उहाँले जोड दिनुभयो । एएफपी   
 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update