RayNewsDaily
आणविक हतियारमुक्त विश्वका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान
  • आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान ।
  • आणविक हतियारको भूमिका घटाउन राष्ट्रहरूलाई आग्रह ।
  • आणविक हतियारमुक्त भविष्य रोज्नुपर्नेमा जोड ।

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्वतर्फ नयाँ बाटो बनाउन प्रयास गर्न आह्वान गर्नुभएको छ ।

आणविक हतियारको पूर्ण उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवसका अवसरमा आयोजित उच्चस्तरीय बैठकलाई मङ्गलबार सम्बोधन गर्दै उहाँले आणविक निशस्त्रीकरण कुनै पक्ष नभई पूर्वनिर्धारित सन्धिअन्तर्गतको बाध्यकारी कानुनी दायित्व भएको बताउनुभयो ।

आणविक हतियार भण्डारण गरेका राष्ट्रहरूलाई यसको प्रयोग रोक्न वार्तामा फर्कन आग्रह गर्दै उहाँले अर्को आणविक हतियारको दौड रोक्न दशकौँदेखि कायम रहेको विश्वव्यापी प्रक्रियालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले संयुक्त राज्य अमेरिका र रूसलाई समयावधि समाप्त भएको नयाँ रणनीतिक हतियार कटौती सन्धिको उत्तराधिकारी ढाँचाका लागि वार्ता गर्न तथा सबै आणविक हतियार भएका राष्ट्रलाई आफ्नो सुरक्षा नीतिमा आणविक हतियारको भूमिका घटाउन आग्रह गर्नुभयो ।

UN-meeting-hall-1790671161.jpg
महासचिव गुटेरेसले आणविक हतियारले मानवताको भविष्य निर्माण गर्न नसक्ने बताउँदै खतरा थाहा हुँदाहुँदै निष्क्रिय बस्ने कुनै बहाना हुन नसक्ने उल्लेख गर्नुभयो । उहाँले संवादमार्फत खतरा, हतियार नियन्त्रणमार्फत हतियार दौड र ठोस कार्यमार्फत पक्षाघातलाई प्रतिस्थापन गर्नुपर्ने बताउनुभयो ।

आणविक हतियारको विस्तार तथा आधुनिकीकरण भइरहेको उल्लेख गर्दै उहाँले आणविक हतियारको प्रयोगसम्बन्धी जोखिम बढिरहेको बताउनुभयो । प्रविधिको विकासले गल्ती र गलत आकलनको सम्भावना बढाएको तथा जोखिम नियन्त्रण गर्न दशकौँदेखि निर्माण गरिएका सुरक्षा उपाय कमजोर हुँदै गएको उहाँको भनाइ छ ।

मानवजाति आठ दशकभन्दा बढी समयदेखि आणविक छायामा बाँचिरहेको उल्लेख गर्दै महासचिव गुटेरेसले भावी पुस्तालाई पनि त्यही अवस्थामा बाँच्न नपर्ने सुनिश्चित गर्न आणविक हतियारमुक्त भविष्य रोज्नुपर्ने बताउनुभयो । सिन्ह्वा

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update