
रे समाचार/काठमाण्डू । कतारको राजधानी दोहामा भैरहेको गाजा युद्धविराम सम्बन्धि वार्ताको नयाँ चरणले केही मुद्दाहरूमा प्रगति गरेको छ ।
इजरायल र हमास दुवैले हिजो बिहीबारको वार्ताका क्रममा केही लचिलोपन प्रदर्शन गरेका छन्, जसले गर्दा वार्ता बिस्तारै अगाडि बढ्न सम्भव भएको सीसीटिभीले जनाएको छ । एक वरिष्ठ इजरायली अधिकारीका अनुसार इजरायल र हमास दोहामा कठिन र जटिल वार्तामा संलग्न छन्, जसले युद्धविराम सम्झौतामा पुग्न एक देखि दुई हप्ता लाग्ने बताएका छन् ।
यदि दुवै पक्ष प्रस्तावित ६०–दिनको युद्धविराममा सहमत भए भने, यस अवधिमा स्थायी युद्धविरामको लागि वार्ता जारी रहन सक्ने अधिकारीहरुले बताएका छन् । हिजै, इजरायली विदेशमन्त्री गिदोन सारले युद्धविराम सम्झौतामा पुग्नुले इजरायली सरकार र अधिकांश जनताको इच्छालाई प्रतिबिम्बित गर्ने बताउनु भएको छ । यो वार्ता इजरायलको राष्ट्रिय हितसँग मिल्दोजुल्दो रहेको पनि गिदोनको भनाइ छ । वार्तामा केही प्यालेस्टिनी कैदीहरुको रिहाईको बदलामा हमासले दुई समूहमा १८ वटा शवसहित १० जना इजरायली बन्धकहरुलाई रिहा गर्ने सहमती भएको पनि सीसीटिभिले जनाएको छ । रिहा गरिने प्यालेस्टिनी कैदीहरूको सही संख्या र नामहरू पछिल्ला वार्ताहरूमा निर्धारण गरिने बताईएको छ । जसमा इजरायलले आजीवन कारावास वा दीर्घकालीन कारावासको सजाय सुनाएकाहरू पनि समावेश रहेका छन् ।
दुवै पक्ष मानवीय सहायता मुद्दाहरूमा पनि सहमतिमा पुगेका छन् । संयुक्त राज्य अमेरिका र इजरायलद्वारा समर्थित गाजा मानवीय फाउन्डेसनका अतिरिक्त, संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय संस्थाहरूलाई गाजामा मानवीय सहायता वितरण पुनः सुरु गर्न अनुमति दिइएको पनि बताईएको छ । वार्तामा केही प्रगति भए पनि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र हमासद्वारा बिहीबार जारी गरिएका छुट्टाछुट्टै विज्ञप्तिहरूले दुई पक्षहरू बीच महत्वपूर्ण असहमति कायम रहेको खुलासा गरेका छन् । हाल अमेरिकाको भ्रमणमा रहनु नेतान्याहूले एक भिडियो सम्बोधनमा ६० दिनको युद्धविराम भयो भने इजरायल स्थायी युद्धविरामको लागि वार्ता गर्न इच्छुक हुने तर हमासले निशस्त्रीकरण गर्ने र गाजालाई निशस्त्रीकरण गर्ने सर्त मान्नुपर्ने बताउनुभयो ।