RayNewsDaily
अमेरिकाले ३५ प्रतिशत कर लगाएपछि सम्झौताको खोजी गर्दै प्रमुख गार्मेन्ट उत्पादक बंगलादेश        

ढाका । विश्वको दोस्रो ठूलो कपडा निर्माता बङ्ग्लादेशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउने भनेको ३५ प्रतिशत भन्सार महसुल घटाउने आशा राखेको देशका शीर्ष वाणिज्य अधिकारीले मङ्गलबार बताएका छन् ।     
     
बङ्गलादेशको निर्यातमा कपडा र गार्मेन्ट उत्पादनको हिस्सा करिब ८० प्रतिशत छ र गत वर्ष सरकारलाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिले गर्दा यो उद्योगले पुनः निर्माण गरिरहेको छ ।     
     
“युएसटिआर (संयुक्त राज्य अमेरिका व्यापार प्रतिनिधिको कार्यालय) ले समीक्षाका लागि अर्को मस्यौदा कागजात पठाएपछि भन्सार शुल्कको दर कम हुने आशा छ”, वाणिज्य सचिव महबुबुर रहमानले भन्नुभयो ।     
     
रहमानले दक्षिण एसियाली यस राष्ट्रको राष्ट्रिय सुरक्षा सल्लाहकार र वाणिज्य सल्लाहकारले संयुक्त राज्य अमेरिकामा ‘यस मुद्दामा काम गरिरहेको’ बताउनुभयो ।     
     
बङ्गलादेश बैंक र राष्ट्रिय राजस्व बोर्डका अनुसार सन् २०२४ मा बङ्गलादेशले अमेरिकामा आठ अर्ब ३६ करोड डलर मूल्यका सामान निर्यात गरेको थियो भने त्यहाँबाट दुई अर्ब २१ करोड डलरको आयात भएको थियो ।     
     
बङ्गलादेशबाट उत्पादनहरू प्राप्त गर्ने अमेरिकी कपडा कम्पनीहरू फ्रुट अफ द लुमदेखि लेवी स्ट्रसदेखि भिएफ कर्पसम्म छन् । यिनीहरूका ब्रान्डहरूमा भ्यान, टिम्बरल्यान्ड र द नर्थ फेस समावेश छन् ।     
     
ट्रम्पले अप्रिल २ मा गरेको घोषणामा बङ्गलादेशलाई ३७ प्रतिशत कर लगाउनुभएको थियो, तर मङ्गलबार जारी गरिएको पत्रमा उहाँले अब यो ३५ प्रतिशत हुने बताउनुभयो ।     
     
यो कपास उत्पादनहरूमा पहिले नै राखिएको १६ प्रतिशतभन्दा दोब्बरभन्दा बढी हो ।     
     
व्यापार घाटा कम गर्न ढाकाले बोइङ विमानहरू खरिद गर्न र अमेरिकी गहुँ, कपास र तेलको आयात बढाउन प्रस्ताव गरेको छ । व्यापार घाटालाई ट्रम्पले पीडादायी कर लगाउनका लागि औचित्यका रूपमा प्रयोग गर्नुभएको छ ।     
     
बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन (बिजिएमइए) का अध्यक्ष महमुद हसन खानले यसलाई ‘गार्मेन्ट क्षेत्रका लागि ठूलो चुनौती’ भन्नुभएको छ ।     
     
“हामीमाथि लगाइएको कर १० देखि २० प्रतिशतको बीचमा हुने हामीले अपेक्षा गरेका थियौँ”, उहाँले भन्नुभयो । उहाँले ढाकाका अन्तरिम नेता मुहम्मद युनुसले ‘संयुक्त राज्य अमेरिकासँग मुद्दा उठाउनुहुने’ अपेक्षा गर्नुभयो ।     
     
बिजिएमइएका पूर्व निर्देशक मोहिउद्दिन रुबेलले भन्सार शुल्कको अवस्था भयावह हुने चेतावनी दिनुभयो ।     
     
“नयाँ भन्सार शुल्कले बङ्गलादेशमा रोजगारी गुमाउने चिन्ता बढाएको छ किनभने अमेरिका यसको मुख्य निर्यात बजार हो”, उहाँले भन्नुभयो, “बङ्गलादेशले नीतिगत परिवर्तनका लागि दबाब दिन, उच्च–स्तरीय व्यापार वार्ता पुनः सुरु गर्न र आफ्ना उत्पादनहरूको महत्त्वलाई उजागर गर्न अमेरिकी आयातकर्ताहरूलाई संलग्न गरेर छिटो कार्य गर्न आवश्यक छ ।”  एएफपी

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update