RayNewsDaily
  पिताको पुन्यतिथिमा राहुलद्वारा भावपूर्ण श्रद्धाञ्जली   

नयाँदिल्ली । काङ्ग्रेस नेता राहुल गान्धीले आफ्ना दिवङ्गत पिताको पुण्यतिथिमा भावुक हुँदै श्रद्धाञ्जलीका शब्द लेख्नुभएको छ । पूर्वप्रधानमन्त्री राजीव गान्धीको ३२ औँ पुण्यतिथिमा उहाँका सुपुत्र राहुलले पिताजीलाई सम्झदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।    
“बाबा, तपाईं सधैँ मेरो सम्झनामा हुनुहुन्छ, मेरो साथमा प्रेरणाको रूपमा हुनुहुन्छ,” राहुल गान्धीले हिन्दीमा ट्वीट गर्दै लेख्नुभएको छ । साथै उहाँले आफ्नो पिताको जीवनकालका विभिन्न क्षणका भिडियो पनि सार्वजनिक गर्नुभएको छ ।    
    
त्यसअघि राहुल गान्धी र उहाँकी बहिनी प्रियङ्का गान्धी वाड्राले राष्ट्रिय राजधानीको वीर भूमिमा पूर्वप्रधानमन्त्री राजीव गान्धीप्रति उहाँको ३२ औँ पुण्यतिथिमा पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । काङ्ग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धी र पार्टी अध्यक्ष मल्लिकार्जुन खर्गेले पनि पूर्वप्रधानमन्त्री राजीव गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।    
    
राजीव गान्धीले आफ्नी आमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि सन् १९८४ मा काङ्ग्रेसको नेतृत्व सम्हाल्नु भएको थियो । अक्टोबर १९८४ मा ४० वर्षको उमेरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेर उहाँ भारतको सबैभन्दा कान्छो प्रधानमन्त्री बन्नुभएको थियो । उहाँले डिसेम्बर २ १९८९ सम्म प्रधानमन्त्रीका रुपमा भारतको सेवा गर्नुभएको थियो ।    
    
 सन् १९४४ को अगस्ट २० मा जन्मनुभएका राजीव गान्धीलाई मे २१, १९९१ मा तमिलनाडुको श्रीपेरुम्बदुरमा चुनावी -यालीमा लिबरेशन टाइगर्स अफ तमिल इलम (लिट्टे) की एक किशोरीले आत्मघाती बम हमलामा मारेकी थिइन् । उक्त आक्रमणमा नेता गान्धीसहित १४ जनाको ज्यान गएको थियो भने ४३ जना गम्भीर घाइते भएका थिए ।    

  

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update