RayNewsDaily
अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन
  • थियानगोङ अन्तरिक्ष केन्द्रमा १४ प्रजातिका २० भन्दा बढी वनस्पति उत्पादन ।
  • गहुँले अन्तरिक्षमै पूर्ण वृद्धि चक्र पूरा गरेपछि दोस्रो चरणको खेती पनि सफल। 
  • चीनको लक्ष्य चन्द्रमामा समेत ‘तरकारी बगैँचा’ स्थापना गर्ने ।

थियानजिन । चीनले आफ्नो अन्तरिक्ष केन्द्र ‘थियानगोङ’ मा हालसम्म १४ प्रजातिका २० भन्दा बढी प्रकारका वनस्पति उत्पादन गरेको छ । यस उपलब्धिले भविष्यमा अन्तरिक्ष केन्द्रमै ठूलो मात्रामा बाली उत्पादन गर्ने आधार तयार भएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

चीनको अन्तरिक्षयात्री केन्द्रका अनुसार अन्तरिक्ष केन्द्रमा सलादका पात, गाजर, सूर्यमुखी, आलु र गहुँलगायत विभिन्न बाली उत्पादन भइरहेका छन् । हालै उत्तरी चीनको थियानजिनमा आयोजित अन्तरिक्ष चिकित्सा तथा इन्जिनियरिङसम्बन्धी सम्मेलनमा शेनझोउ-२१ का अन्तरिक्षयात्री झाङ होङझाङले अन्तरिक्ष केन्द्रमा हुर्किरहेका वनस्पतिका तस्बिर तथा भिडियो सार्वजनिक गर्नुभएको थियो ।

चीनमा दीर्घकालीन मानव अन्तरिक्ष उडानको युग सन् २०२१ को अक्टोबरमा सुरु भएको थियो । त्यतिबेला शेनझोउ-१३ का अन्तरिक्षयात्री झाइ झिगाङ, वाङ यापिङ र ये गुआङफु चीनको अन्तरिक्ष केन्द्रको मुख्य भाग ‘थियान्हे’ मा प्रवेश गर्नुभएको थियो ।

china-space-1789979488.jpg
चीनको अन्तरिक्षयात्री केन्द्रका विज्ञ बियान छियाङका अनुसार लामो समयसम्म अन्तरिक्षमा मानव बसोबास गर्न पृथ्वीबाट हुने खाद्यान्न, पानी र अन्य आवश्यक सामग्रीको आपूर्तिमाथिको निर्भरता घटाउनु आवश्यक छ ।

यस उद्देश्यका लागि चीनले नियन्त्रित पारिस्थितिक जीवन-समर्थन प्रणाली विकास गरिरहेको छ । यस्तो प्रणालीमा कृत्रिम रूपमा तयार गरिएको बन्द र नियन्त्रित वातावरणभित्र हावा, पानी र खाद्य पदार्थको पुनर्चक्रण तथा पुनःउत्पादन गरिन्छ । यसको दीर्घकालीन लक्ष्य अन्तरिक्षमा मानिसका लागि आवश्यक जीवनोपयोगी स्रोतहरू सकेसम्म त्यहीँ उत्पादन गर्नु हो ।

हाल अन्तरिक्ष केन्द्रमा बिरुवा हुर्काउन दुई प्रकारका प्रणाली सञ्चालनमा छन् । पहिलो प्रणालीमा बिरुवा हुर्काउन विशेष माध्यमको प्रयोग गरिन्छ भने दोस्रोमा बिरुवाको जरामा पोषक तत्त्वयुक्त पानी वा घोल पुर्‍याउने हावामा आधारित प्रविधि प्रयोग भइरहेको छ । यी प्रयोगबाट वैज्ञानिकहरूले अन्तरिक्षमा बिरुवा हुर्काउने, खाद्य बाली उत्पादन गर्ने तथा भविष्यमा मानिसको दीर्घकालीन बसोबासका लागि आवश्यक जीवन-समर्थन प्रणाली विकास गर्ने अनुभव प्राप्त गरिरहेका छन् ।

सन् २०२५ मा अझ प्रभावकारी हावामा आधारित बिरुवा उत्पादन प्रणाली अन्तरिक्षमा पठाइएको थियो । त्यसपछि गहुँले अन्तरिक्षमै आफ्नो पूर्ण वृद्धि चक्र पूरा गरेको छ । पहिलो पटक उत्पादन भएको गहुँबाट प्राप्त बीउ प्रयोग गरी दोस्रो चरणमा लगाइएको गहुँ पनि राम्रोसँग हुर्किरहेको र कटानीको नजिक पुगेको बियानले बताउनुभएको छ ।

अन्तरिक्षमा गहुँको पूर्ण वृद्धि चक्र पूरा हुनु चीनका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ । यसले पृथ्वीबाट बीउ तथा खाद्यान्न निरन्तर पठाउनुपर्ने निर्भरता घटाउने सम्भावनाबारे अध्ययन गर्न वैज्ञानिकहरूलाई थप आधार दिएको छ ।

चीनले भविष्यमा आफ्नो चन्द्र अन्वेषण कार्यक्रम अघि बढाउँदै चन्द्रमामै ‘तरकारी बगैँचा’ स्थापना गर्ने योजना पनि बनाएको छ । यस्तो योजना सफल भएमा चन्द्रमामा लामो समयसम्म रहने अन्तरिक्षयात्रीका लागि केही ताजा खाद्य पदार्थ त्यहीँ उत्पादन गर्न सकिने सम्भावना हुनेछ ।

चीनको अन्तरिक्ष केन्द्र ‘थियानगोङ’, जसको अर्थ ‘स्वर्गीय दरबार’ हो, अहिले दीर्घकालीन मानव बसोबासको चरणमा प्रवेश गरिसकेको छ । शेनझोउ-२३ अभियानका एक अन्तरिक्षयात्रीले अन्तरिक्षमा एक वर्षसम्म बस्ने योजना रहेको छ ।

यससँगै चीनले सन् २०३० मा मानवसहित चन्द्रमामा अवतरण गर्ने लक्ष्य राखेर आफ्नो चन्द्र अन्वेषण कार्यक्रम अघि बढाइरहेको छ । अन्तरिक्षमा बाली उत्पादनसम्बन्धी भइरहेका प्रयोगहरू भविष्यमा चन्द्रमा तथा अन्य गहिरो अन्तरिक्ष अभियानमा मानिसका लागि खाद्य उत्पादन र जीवन-समर्थन प्रणाली निर्माण गर्न उपयोगी हुने अपेक्षा गरिएको छ । सिन्ह्वा

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update