RayNewsDaily
इरान-इजरायल युद्ध तत्काल ‘पछि नफर्कने’ बिन्दुमा पुगेको एर्दोगानको भनाइ   

इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इरान र इजरायलबीचको बढ्दो द्वन्द्व चाँडै नै पछि नफर्कने (नो रिटर्न) को बिन्दुमा पुगेको बताउनुभएको छ ।

इरान र इजरायलबीच आठ दिनदेखि युद्ध जारी छ । इजरायलले इस्लामिक गणतन्त्र इरान आणविक हतियार प्राप्त गर्ने सङ्घारमा रहेको भन्दै आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि व्यापक आक्रमण सुरु गरेको थियो।

“दुर्भाग्यवश, गाजामा भएको नरसंहार र इरानसँगको द्वन्द्व चाँडै नै नफर्कने बिन्दुमा पुगेको छ । यो द्वन्द्व जतिसक्दो चाँडो अन्त्य हुनुपर्छ”, एर्दोगानले भन्नुभयो, “यसको परिणामले यस क्षेत्र, युरोप र एसियालाई ‘धेरै वर्षसम्म’ असर गर्न सक्छ ।”

उहाँले भन्नुभयो, “यो अत्यावश्यक छ, थप विनाश, रक्तपात, नागरिक हताहत र भयानक विपत्ति आउनुभन्दा पहिले ‘ट्रिगर र बटन’ बाट औंलाहरू हटाउनु आवश्यक छ । यसले युरोप र एशियालाई आगामी धेरै वर्षहरूसम्म असर पार्न सक्छ।”

इस्तानबुलमा आयोजित इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को युवा मञ्चमा ओआइसीका विदेशमन्त्रीहरूको भेलाअघि उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

इरानका विदेशमन्त्री अब्बास अराघची पनि सहभागी हुने भेलामा उहाँले भन्नुभयो, “इजरायलसँग जारी सङ्कटलाई दुई दिने वार्तामा उच्च प्राथमिकतामा राखिने बताइएको छ ।”

एर्दोगानले यसअघि जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको फोन वार्तामा युद्धले आप्रवासनमा वृद्धि हुनसक्ने चेतावनी दिनुभएको थियो । एएफपी

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update