RayNewsDaily
इजरायलमा आणविक आक्रमण गर्ने योजना रहेको भन्ने नक्कली समाचारको पाकिस्तानद्वारा खण्डन        
पाकिस्तानका उप-प्रधानमन्त्री एवं विदेशमन्त्री इशाक दार । फाइल फोटो

इस्लामाबाद । पाकिस्तानका उप-प्रधानमन्त्री एवं विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जालमा फैलिएको ‘गैरजिम्मेवार’ र ‘बनावटी’ नक्कली समाचारलाई कडा शब्दमा अस्वीकार गर्नुभएको छ ।     
     
उक्त नक्कली समाचारले पाकिस्तानले इरानमाथि कुनै आक्रमण भएमा बदलास्वरूप इजरायलमाथि आणविक आक्रमण गर्नेछ भनी एक वरिष्ठ इरानी जनरलको नाममा गलत रूपमा दाबी गरेको थियो ।     
     
द एक्सप्रेस ट्रिब्युनका अनुसार सोमबार सिनेटमा बोल्दै दारले बढ्दो क्षेत्रीय तनावका सन्दर्भमा गलत सूचनाको प्रसारको निन्दा गर्नुभयो र इजरायल र इरानबीच बढ्दो द्वन्द्वको बीचमा संयमता अपनाउन आग्रह गर्नुभयो ।     
     
“पाकिस्तानले त्यस्तो कुनै बयान दिएको छैन । यो अत्यन्त गैरजिम्मेवार र बनावटी दाबी हो”, उहाँले भन्नुभयो ।     
     
उहाँले ‘युद्ध कुनै मजाक होइन’ भनी चेतावनी दिनुभयो र देशको आणविक र क्षेप्यास्त्र कार्यक्रमहरू विशुद्ध रूपमा आत्मरक्षाका लागि भएको कुरा दोहोर्याउनुभयो ।     
     
“हाम्रो आणविक र क्षेप्यास्त्र कार्यक्रम हाम्रो आफ्नै सुरक्षाका लागि हो”, उहाँले सांसदहरूलाई भन्नुभयो, “हामीले सन् १९९८ मा हाम्रा आणविक हतियारहरू रक्षा र क्षेत्रीय शान्तिका लागि हुन् भनेर भनेका थियौँ । हामीले एनपिटी (आणविक हतियारको अप्रसार) मा हस्ताक्षर गरेका छैनौँ किनभने हाम्रो सुरक्षाका लागि विश्वसनीय प्रतिरोध कायम राख्नु आवश्यक छ ।”     
     
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गलत रूपमा श्रेय दिइएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले बनाएको भिडियो र पाकिस्तानको आणविक मुद्राका बारेमा गलत जानकारीलाई उद्धृत गर्दै उपप्रधानमन्त्री दारले सामाजिक सञ्जालमा नक्कली समाचारको प्रसारको पनि आलोचना गर्नुभयो ।     
     
“त्यहाँ ट्रम्पका बारेमा एक भिडियो क्लिप थियो जुन पछि एआई–जेनेरेटेड भएको पत्ता लाग्यो”, उहाँले भन्नुभयो, “जुन १३ देखि धेरै नक्कली कथाहरू सतहमा आएका छन् । प्रसारण भइरहेको नेतान्याहु (इजरायली प्रधानमन्त्री) को अन्तर्वार्ता सन् २०११ को हो । यो बालबालिकाको खेल होइन- यो गम्भीर युद्ध हो । हामीले सावधानीका साथ काम गर्नुपर्छ ।”     
     
पाकिस्तानले रचनात्मक कूटनीतिक भूमिका खेलेको पनि उहाँले स्पष्ट पार्नुभयो । “हामीले संयुक्त राष्ट्र सुरक्षा परिषद्को अधिवेशनमा सहभागिता जनायौँ । इरानले पाकिस्तानको भूमिकाको प्रशंसा गरेको छ”, दारले भन्नुभयो, “ओमान र इरानका विदेशमन्त्रीहरूले मलाई जानकारी गराउनुभयो । वार्ताका क्रममा इरानका विदेशमन्त्री निरन्तर सम्पर्कमा रहनुभयो ।”     
     
यदि इजरायल थप आक्रमणबाट टाढा रह्यो भने इरान वार्ताका लागि खुला रहेको दारले खुलासा गर्नुभयो । “पहिलो आक्रमणपछि मैले इरानका विदेशमन्त्रीसँग कुरा गरेँ । उहाँले भन्नुभयो कि उहाँहरूले जवाफ दिनुहुनेछ तर इजरायलले फेरि जवाफ नदिएमा वार्ताका लागि तयार हुनुहुन्छ । हामीले यो इच्छा अन्य राष्ट्रहरूलाई सूचित गर्यौँ । इजरायललाई रोक्न अझै समय छ- इरान तयार छ”, उहाँले भन्नुभयो । एजेन्सी

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update