
काठमाण्डू । गत बिहीबार भारतको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७९ पुगेको छ ।
गुजरात राज्यको राजधानी गान्धीनगरबाट लगभग १७ किलोमिटर दक्षिणमा रहेको अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको एक मिनेट भित्रै दुर्घटनाग्रस्त भएको एयर इन्डियाको विमानमा १ सय ६९ जना भारतीय नागरिक, ५३ जना बेलायती नागरिक, ७ जना पोर्चुगिज नागरिक र १ जना क्यानेडियन नागरिक सवार थिए । विमानमा १२ जना चालक दलका सदस्यहरू पनि रहेका थिए । त्यसैगरी विमान दुर्घटना भएको भवन र सो आसपासका क्षेत्रमा अन्य ३८ जना सर्वसाधारणको पनि मृत्यु भएको पुष्टि गरिएको छ । एकजना बेलायती नागरिक भने सो भिषण दुर्घटनाबाट बाँच्न सफल भएका थिए ।
भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनाका पीडितका परिवारजन आफन्तको डीएनए पहिचान प्रक्रियाको विवरण पर्खँदै, दुर्घटनाको कारण पत्ता लगाउन विशेष समितिद्वारा काम सुरु ।।
चाईना ग्लोवल टेलिभिजन नेटवर्क (सीजिटिएन) का अनुसार विमान दुर्घटनाका पीडितका शोकमा रहेका परिवारजन अहिले पनि आफन्तको डीएनए पहिचान प्रक्रियाको विवरण पर्खिरहेका छन् । एयरलाइन कम्पनी र सरकारसँग उनीहरुले विभिन्न प्रश्नहरु गरिरहेका छन् । विमान दुर्घटनामा आफ्ना प्रियजनहरू गुमाएका बुबा रफिक मेमनले आफ्ना बच्चाहरूको मृत्यु भएको बताउँदै यो कसको लापरवाही हो र को जिम्मेवार छ भनि प्रश्न गर्नुभएको छ ।
एयर इन्डिया कम्पनीले आफ्ना विमानहरू विरुद्धका धेरै गुनासोहरूमा ध्यान नदिएकोमा मेमनले चिन्ता व्यक्त गर्नुभएको छ । दुर्घटना ग्रस्त विमान लन्डन उडानको लागि किन रोजियो भनि उहाँले प्रश्न गर्नुभएको छ । के मानव जीवनको कुनै मूल्य छैन मेमनको प्रश्न छ ?
यसैबीच भारत सरकारले दुर्घटनाको कारण पत्ता लगाउन विशेष समिति गठन गरेको छ । भारत सरकारले एक उच्चस्तरीय बहु–अनुशासनात्मक समितिले दुर्घटनाको कारणबारे अनुसन्धान गर्नेछ र उड्डयन सुरक्षाका लागि मानक सञ्चालन प्रक्रियाहरूको स्तरोन्नति गर्ने बताउको छ । समितिले तीन महिनामा मूल्याङ्कन प्रतिवेदन दिने बताईएको छ । सो दुर्घटनाको कारणबारे अनुसन्धान गर्न बेलायत, संयुक्त राज्य अमेरिका, क्यानडा, युरोपेली सुरक्षा एजेन्सी र अन्य टोलीहरूले सहयोग गरिरहेका छन् । बरामद गरिएको उडान रेकर्डरबाट प्राप्त डेटा प्रशोधन र विश्लेषण भइरहेको छ भने अनुसन्धान टोलीले प्राविधिक त्रुटिहरू मात्र होइन विमान सञ्चालनमा भएका त्रुटिहरू र मर्मतसम्भारको विवरणलाई पनि जाँच गर्नेछ भारत सरकारले जानकारी दिएको छ ।
भारतका उड्डयन विशेषज्ञ मार्क डी. मार्टिनले १४ वर्ष अघिदेखि उडान सुरु गरेको दुर्घटनाग्रस्त सो विमान उडानमा भरपर्दो मानिएको, राम्रो मर्मतसम्भार र सञ्चालन इतिहास राम्रो रहेको जानकारी दिनुभएको छ ।
उड्डयन विशेषज्ञ मार्क डी. मार्टिनले अनुसन्धानका कुनै पनि भाग वा पक्षलाई कार्पेटमुनी लुकाउने सम्भावना नरहेको पनि बताउनु भएको छ ।