
मस्को । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आयोजित एक उच्चस्तरीय बैठकमा सम्बोधन गर्दै रूस हाल पनि विश्वका प्रमुख हतियार निर्यातकर्ता देशहरूमध्ये अग्रस्थानमा कायम रहेको जानकारी दिनुभएको छ। उहाँले रूसी सैनिक उपकरण र हतियारप्रति अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय माग देखिएको बताउनुभयो।
उहाँले भन्नुभयो, “रूसले अझै पनि विश्वको हतियार बजारमा शीर्ष पाँच राष्ट्रको स्थानमा आफूलाई राख्न सफल भएको र धेरै क्षेत्रहरूमा प्रमुख निर्यातकर्ताका रूपमा अग्रसर रहँदै आएको छ।”
यो मन्तव्य राष्ट्रपति पुटिनले सैनिक-प्रविधिक सहकार्यसम्बन्धी बैठकका क्रममा दिनुभएको हो।
टेलिभिजनमार्फत प्रसारित सम्बोधनमा उहाँले सन् २०२४ मा रूसले प्रायः सबै हतियार निर्यातसम्बन्धी प्रतिबद्धताहरू पूरा गरेको जानकारी दिनुभयो। साथै, उहाँले उल्लेख गर्नुभयो, “रूसी सैन्य उत्पादनहरूको माग निकै उच्च रहेको र हाल अर्बौँ डलर बराबरको अर्डर रहेको छ।”
उहाँले सम्बन्धित सरकारी निकायहरूलाई हतियार निर्यातमा वृद्धि गर्न आवश्यक नीतिगत पहल तथा राज्यीय समर्थन कार्यक्रमहरू अघि बढाउन निर्देशन दिनुभयो।
राष्ट्रपतिले भन्नुभयो कि रूसी सैनिक उपकरण तथा हातहतियारहरूमा निरन्तर सुधार भइरहेको छ र देशको सैन्य-औद्योगिक क्षेत्रको मुख्य दायित्व भनेको रूसको विशेष सैन्य अभियानलाई आवश्यक सामग्रीको भरपर्दो आपूर्ति गर्नु हो।
उहाँका अनुसार, रूसी उत्पादनको गुणस्तर र कार्यक्षमताले अन्तर्राष्ट्रिय बजारमा विश्वास जितिरहेको छ, जसका कारण निर्यात विस्तारको सम्भावना अझ बलियो हुँदै गएको छ। सिन्ह्वा