
मस्को । रुसको राजकीय भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सोभियत संघको महान देशरक्षा युद्ध बिजयको ८०औँ वार्षिकोत्सव समारोहमा आयोजना गरिएको परेड अवलोकन गर्नुभएको छ ।
रुसको राजधानी मस्कोमा आज बिहान आयोजना गरिएको सो भव्य परेडमा राष्ट्राध्यक्ष सी चिनफिङ लगायत विश्वका २० वटा भन्दा धेरै मुलुक र अन्तर्राष्ट्रिय संगठनका नेताहरू आमन्त्रित भई सो समारोहमा उपस्थित हुनुभएको हो । परेड समारोहमा सहभागी हुनुभन्दा पहिले राष्ट्राध्यक्ष सी चिनफिङले क्रेमलिन दरबार पुगेर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सौहार्दपूर्ण रूपमा हात मिलाउनु भएको थियो । त्यसपछि उहाँहरूसँगै मिलेर मुख्य अतिथि रहने मञ्चमा बस्नुभई रेड स्क्वायरको परेड समारोहमा उपस्थित हुनुभएको हो ।
सो परेडमा चीन लगायत १० वटा भन्दा बढी मुलुकका सशस्त्र शक्ति फौजहरू आमन्त्रित भई सो परेड समारोहमा सहभगी भएका थिए । विशाल समारोह सम्पन्न भएपछि राष्ट्राध्यक्ष सीले अन्य मुलुकका नेतागणसित रेड स्क्वेयरबाट एलिक्जान्डर उद्यान पुग्नुभई नाम रहित शहीद चिहानमा फूल चढाउँदै मौनधारण गर्नुभएको थियो । यसैगरी आजै मध्यान्ह राष्ट्राध्यक्ष सी रूसी राष्ट्रपति पुटिनद्वारा आयोजित सोभियत संघको महान देशरक्षा युद्ध बिजयको ८०औँ वार्षिकोत्सव स्मरण गरिने भोजमा पनि सम्मिलित हुनुभएको थियो ।
चाइना ग्लोवल टेलिभिजन नेटवर्कका अनुसार चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा रूसी राष्ट्रपति पुटिनद्वारा संयुक्त रूपमा आयोजित पत्रकारसँग भेटघाटमा राष्ट्राध्यक्ष सीले रूससँगै मिलेर विश्वका ठूला मुलुक र संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्का स्थायी सदस्य मुलुकको विशेष जिम्मेवारी लिँदै दोस्रो विश्व युद्धको सही ऐतिहासिक दृष्टिकोणको प्रचारप्रसार गर्नुका साथै दृढताका साथ चीन-रूस दुवै देश तथा अन्य विकासोन्मुख मुलुकहरूको हक-अधिकारको संरक्षण गर्दै जान चीन इच्छुक रहेको बताउनुभयो ।