
काठमाण्डू । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोस्थित क्रेमलिन दरबारमा भेटवार्ता भएको छ ।
सोभियत संघको महान देशरक्षा युद्ध विजय र संयुक्त राष्ट्र संघ स्थापनाको ८० औँ वार्षिकोत्सवको अवसरमा आयोजित भव्य समारोहमा सहभागि हुन मस्को पुग्नु भएका राष्ट्राध्यक्ष सीले रूसी राष्ट्रपति पुटिनसँगको भेटवार्तामा चीन-रूस सम्बन्ध र अन्य महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयहरूबारे गहन रूपमा वैचारिक आदानप्रदान गर्नुभएको थियो ।
हिजो बिहीबार बिहान भएको सो वार्तामा राष्ट्राध्यक्ष सीले रूससँगै मिलेर विश्वका ठूला मुलुक र संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्का स्थायी सदस्य मुलुकको विशेष जिम्मेवारी लिँदै दोस्रो विश्व युद्धको सही ऐतिहासिक दृष्टिकोणको प्रचारप्रसार गर्नुका साथै दृढताका साथ चीन–रूस दुवै देश तथा अन्य विकासोन्मुख मुलुकहरूको हक-अधिकारको संरक्षण गर्दै जान चीन इच्छुक रहेको बताउनुभयो ।
प्रत्युत्तरमा रुसी राष्ट्रपति पुटिनले दुवै पक्षले संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय कानूनको आधिकारिकताको संरक्षण गर्नुका साथै सँगै मिलेर दुवै देश र पुरै विश्वका लागि अझ सुमधुर भविष्यको सिर्जना गर्दै जाने आशा व्यक्त गर्नुभएको छ ।
वार्तापछि दुवै देशका नेतागणले संयुक्त रूपमा “जापानी अतिक्रमण विरूद्ध चिनियाँ जनताको युद्ध, सोभियत संघको महान देशरक्षा युद्ध बिजय र संयुक्त राष्ट्र संघ स्थापनाको ८० औँ वार्षिकोत्सवको स्मृतिमा जन गणतन्त्र चीन र संघीय रूस बीच चीन–रूस नयाँ युगमा सम्पूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई अझ गहन पार्ने संयुक्त वक्तव्य”मा हस्ताक्षर गर्नुभएको थियो ।
साथै उहाँहरूले चीन–रूस दुवै पक्षबीचका २० वटा भन्दा बढी द्विपक्षीय सहयोगात्मक दस्तावेजको आदानप्रदानको पनि साक्षी बस्नुभएको थियो । यसका अतिरिक्त उहाँहरूले सँगसँगै पत्रकारसित साक्षात्कार पनि गर्नुभयो ।
सोही दिन मध्यान्ह राष्ट्रपति पुटिनले सी चिनफिङको सम्मानमा स्वागत भोजको पनि आयोजना गर्नुभएको थियो । सीजिटिएन