RayNewsDaily
दोस्रो अभ्यास खेलमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

क्याप टाउन । नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा सुरु हुनेछ । एक सातापछि जिम्बावेमा हुने आइसिसी विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा नेपालको यो अन्तिम तयारी खेल हो । नेपाल आइतबार जिम्बावे जानेछ ।


जिम्बावे र दक्षिण अफ्रिका वातावरण मिल्दोजुल्दो छ । त्यसैको कारण नेपालले दक्षिण अफ्रिकामा तयारी गरेको हो । नेपाल, ओमान, नेदरल्यान्ड्स र स्कटल्यान्डले दक्षिण अफ्रिकामा आफ्नो अन्तिम तयारी गरेका छन् । नेपाल पहिलो अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । यो अभ्यास खेल हुँदा नेपाललाई आफ्नो गल्ती सुधार गर्ने राम्रो अवसर हुनेछ ।


नेपाल आइसिसी विश्वकप लिग २ मा शीर्ष तीनमा रहँदै विश्वकप छनोटमा पुगेको हो । नेदरल्यान्ड्स १२ टेस्ट टोलीसँगै आइसिसी विश्वकप सुपर लिगमा शीर्ष आठमा पर्न नसकेपछि विश्वकप छनोट खेल्न लागेको हो । नेदरल्यान्ड्स वर्तमान समयको एसोसिएटको एक उत्कृष्ट टोली हो । इंग्ल्यान्डको घरेलु क्रिकेट काउन्टीको कारण विश्वकप छनोटमा नेदरल्यान्ड्सका केहि प्रमुख खेलाडी छैनन् । त्यसैले उसको लागि टोलीको स्तर परिक्षण गर्ने राम्रो अवसर हो ।


नेदरल्यान्ड्सका मध्यक्रमका भरपर्दा ब्याटर टम कुपर, कोलिन एकरम्यान, तीव्र गतिका बलिङ अलराउन्डर पल भान मार्केन र फर्द क्लासेन लगायतका खेलाडीले गुमाउने भएका छन् । 
 

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update