- चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनायो
- डेविड मलानले ५० बलमा ७० रनको अर्धशतकीय पारी खेले
- आजै दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई १५८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको हो ।
चितवनका ओपनर डेविड मलानले अर्धशतकीय पारी खेले । उनले ५० बलमा ५ चौका र ५ छक्कासहित ७० रन बनाए ।
यस्तै, अविजित कप्तान रवि बोपाराले ३२ र ड्यान मोस्लीले २९ रन जोडे । देव खनाल १२ रनमा आउट भए ।
विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असालङ्काले एक-एक विकेट लिए ।
जारी संस्करणमा विराटनगर र चितवनले पहिलो खेल खेलिरहेका छन् । आजै हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार उक्त खेल अपराह्न ५ः०० बजेदेखि सुरु हुनेछ ।
यस सिजनको एनपिएलमा पनि आठ टोली सहभागी छन् । रासस
