- सोमपाल कामीको अविजित ६२ रनमा कर्णालीको जित ।
- विराटनगरले दियो १८७ रनको लक्ष्य, कर्णालीले १९.५ ओभरमा पूरा गर्यो ।
- सोमपालको चार विकेट, विराटनगरका लोकेश बमको ८७ रन ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ अन्तर्गत आज भएको खेलमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई चार विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा छ विकेट गुमाएर पूरा गर्यो ।
कर्णालीको जितमा कप्तान सोमपाल कामीले अविजित ६२ रन बनाए । उनले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे । पवन शर्राफले ३६, अरिफुल इस्लामले ३२, गुल्सन झाले २८ तथा दीपक डुम्रेले २० रन बनाए ।
बलिङतर्फ विराटनगरका एन्जेलो म्याथ्युजले तीन विकेट लिए । सन्दीप लामिछाने र प्रतिश जिसीले समान एक-एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको कर्णालीविरुद्ध ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८६ रन बनाएको थियो ।
विराटनगरका लोकेश बमले सर्वाधिक ८७ रन बनाए । उनले ५२ बलमा तीन चौका र नौ छक्का प्रहार गरे । आन्द्रे रसेलले १५ बलमा तीन चौका र दुई छक्कासहित २७ रन बनाए । एन्जेलो म्याथ्युजले २३ बलमा चार चौकाको मद्दतले ३१ रन जोडे । बासिर अहमदले सात बलमा १३ तथा शेहान जयसूर्याले ११ रन बनाए ।
बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामीले चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए । मार्क वाट र नन्दन यादवले समान एक-एक विकेट लिए । रासस
