- कात्तिक ११ देखि १५ गतेसम्म विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना ।
- पाकेको धान आजसम्म भित्र्याउन वा कात्तिक १५ पछि मात्र काट्न सुझाव ।
- धान ढलेको भए बाला पानीमा डुब्न नदिन मुठो पारेर ठड्याउन आग्रह ।
धादिङ । कृषि विकास कार्यालयले मौसमको पूर्वानुमानलाई ध्यान दिएर मात्र धान काट्न तथा भित्र्याउन कृषकलाई आग्रह गरेको छ ।
कार्यालयले जारी गरेको ‘धानबाली काट्ने तथा भित्र्याउनेसम्बन्धी’ सूचनामा कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको उल्लेख छ । वर्षाका कारण धानबालीमा क्षति हुन नदिन विशेष सावधानी अपनाउन कार्यालयले अनुरोध गरेको छ ।
पाकिसकेको धान मौसमको अवस्था हेरेर आजसम्म भित्र्याइसक्न वा कात्तिक १५ गतेपछि मात्र काट्न कार्यालयले सुझाव दिएको छ । तत्काल भित्र्याउन नसकिने धान मौसममा सुधार आएपछि मात्र काट्ने गरी समय मिलाउन पनि कृषकलाई आग्रह गरिएको छ ।
धान नपाकेका खेतमा कुलो वा नाली काटेर तत्काल पानी निकासको व्यवस्था गर्न कार्यालयले अनुरोध गरेको छ । हावाहुरी वा वर्षाका कारण धान ढलेको भए बाला पानीमा डुब्न नदिन मुठो पारेर ठड्याउने वा अग्लो ठाउँमा राख्ने प्रयास गर्न पनि कृषकलाई आग्रह गरिएको छ । रासस
