- बेलायतमा बस्दै आएका कुल आचार्य र उत्तम नेपालद्वारा सरकारलाई सहयोग ।
- डीएनए परीक्षण कीटसँगै उत्तम नेपालले दिए एक करोड रुपैयाँको चेक ।
- सहयोगले डीएनए परीक्षण तथा अनुसन्धान क्षमता बढाउन योगदान पुग्ने सरकारको विश्वास ।
काठमाडौँ । बेलायतमा बसोबास गर्दै आउनुभएका गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई डीएनए परीक्षण कीट तथा आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा आचार्य र नेपालले डीएनए परीक्षण कीट सरकारलाई हस्तान्तरण गर्नुभएको हो । सोही अवसरमा उत्तम नेपालले मन्त्री खनालमार्फत सरकारलाई सहयोगस्वरूप एक करोड रुपैयाँको चेकसमेत हस्तान्तरण गर्नुभयो ।
आचार्य र नेपालले व्यक्तिगत रूपमा उक्त सहयोग उपलब्ध गराउनुभएको हो ।
सहयोगका लागि दुवै जनाप्रति आभार व्यक्त गर्दै मन्त्री खनालले प्राप्त डीएनए परीक्षण कीट र आर्थिक सहयोगले सरकारको उन्नत डीएनए परीक्षण तथा अनुसन्धानसम्बन्धी क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य विदुषी राणा, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रतिनिधि तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । रासस
