RayNewsDaily
ललितपुरको ऐतिहासिक कार्तिक नाच कात्तिक २७ देखि, १२ दिनसम्म प्रदर्शन हुने
कार्तिक नाचमा नरसिंह अवतार । फाइल फोटो
  • पाटन दरबारको कात्तिक डबलीमा १२ दिन नाच देखाइने ।
  • मल्लकालीन परम्परा जोगाउन वार्षिक १० करोडको अक्षयकोष बनाउने लक्ष्य ।
  • आर्थिक अभाव, कलाकार पलायन र भाषागत समस्या संरक्षणका चुनौती ।

ललितपुर । ललितपुरको पाटन दरबारस्थित कात्तिक डबलीमा प्रदर्शन गरिने ऐतिहासिक कार्तिक नाच यस वर्ष कात्तिक २७ गते शुक्रबारदेखि सुरु हुने भएको छ ।

कार्तिक नाच सञ्चालनका लागि तयारी भइरहेको नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिनुभयो । उहाँका अनुसार नाच हरेक दिन साँझ ७ बजेदेखि लगातार १२ दिनसम्म प्रदर्शन गरिनेछ ।

“यो नाच भगवान् विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । प्रत्येक दिन फरक-फरक कथामा आधारित रहेर लीलाअनुसारका नाच देखाइन्छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा यो नाच प्रदर्शन हुँदै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ कार्तिक नाच चलाएको जनविश्वास छ”, उहाँले भन्नुभयो ।

नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा कार्तिक नाच सुरु भएको इतिहासमा उल्लेख छ । अध्यक्ष चित्रकारका अनुसार मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका जनतालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय रहेको उल्लेख छ ।

“यो नाच सुरुमा पाँच दिन प्रदर्शन हुन्थ्यो । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् लोकनाटक, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिन पुर्‍याएको भनिन्छ । अहिले नाचको विशेषता बुझेका कलाकारको अभाव र सञ्चालनका लागि पर्याप्त आर्थिक स्रोत नहुँदा १० देखि १२ दिनसम्म मात्रै सीमित गरिएको छ”, उहाँले भन्नुभयो ।

कार्तिक नाच नेपालको अमूर्त सम्पदा र परम्परागत संस्कृति भएकाले हालसम्म निरन्तर सञ्चालन हुँदै आएको कार्तिक नाच प्रचारप्रसार समितिका संयोजक सञ्जय शर्मा राजोपाध्यायले बताउनुभयो ।

“कार्तिक नाच धार्मिक र तान्त्रिक महत्त्वसँग पनि जोडिएको छ । नेवार समुदायमा यसलाई समावेशी नाचका रूपमा लिइन्छ । यो नाच जातीय सद्भाव कायम राख्ने माध्यम बनेको छ”, उहाँले भन्नुभयो ।

मल्लकालीन समयमा कार्तिक नाचमा मैथिली भाषामा संवाद गरिन्थ्यो । मैथिली भाषा नेवार समुदायका धेरैले नबुझ्ने भएकाले पछिल्लो समय नेपाल भाषामा अनुवाद गर्न थालिएको हो । यो नाच संसारकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा चिनिएको राजोपाध्यायको भनाइ छ ।

“२७ दिनसम्म कार्तिक नाच सञ्चालन हुने भएकाले यसलाई संसारकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा इतिहासमा उल्लेख गरिएको छ । तर, अहिले यो नाच १० देखि १२ दिनमा सीमित भएको छ । विसं २००७ को जनक्रान्तिपछि नाच प्रदर्शनको अवधि घटाइएको थियो । विसं २००८ देखि २०३७ सालसम्म दुई दिन मात्रै नाच देखाइन्थ्यो । ती दुई दिनमा वराह र नरसिंह अवतार प्रदर्शन गरिन्थ्यो”, राजोपाध्यायले भन्नुभयो ।

कार्तिक नाच प्रबन्ध समिति गठन भएपछि विसं २०३८ देखि २०६० सम्म प्रत्येक वर्ष आठ दिन नाच प्रदर्शन गरिएको उहाँले बताउनुभयो ।

“विसं २०७० मा दुई दिन वस्त्रहरण र बौद्ध लीला थपेर १० दिन पुर्‍याइयो । विसं २०७१ देखि २०७६ सम्म १२ दिन नाच सञ्चालन भयो । विसं २०७७ मा कोभिड महामारीका कारण दुई दिन मात्रै नाच देखाइयो । यस वर्ष १२ दिन प्रदर्शन गरिँदैछ । विसं २००६ यता २७ दिन नै नाच प्रदर्शन हुन सकेको छैन । सबै २७ दिन नाच देखाउन एक वर्षको समय खर्चिनुपर्छ । नाचका लागि अभ्यास गर्न पनि धेरै समय लाग्छ”, उहाँले भन्नुभयो ।

लामो समयसम्म नाच प्रदर्शन गर्न आर्थिक अभाव हुने गरेको कलाकार राजोपाध्यायले बताउनुभयो । कलाकारले व्यावसायिक रूपमा यस क्षेत्रमा समय दिन नसक्दा पनि कार्तिक नाच सञ्चालनमा समस्या भइरहेको उहाँको भनाइ छ ।

“कलाकारलाई उचित पारिश्रमिक दिन नसकिएको अवस्था छ । कलाकार विदेश पलायन हुँदै जाने समस्या र नयाँ पुस्तामा भाषागत कठिनाइ बढ्दै गएको छ । अर्कोतर्फ, सरकारी पक्षबाट समेत यसका लागि पर्याप्त सहयोग प्राप्त हुन सकेको छैन”, उहाँले भन्नुभयो ।

नाच संरक्षण समितिले कार्तिक नाचलाई निरन्तरता दिन संस्थागत रूपमा रु. १० करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको छ । साथै, कलाकारलाई व्यावसायिक रूपमा अगाडि बढाउने र नयाँ पुस्तालाई भाषागत रूपमा सबल बनाउन प्रशिक्षण दिने योजना बनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक ६, २०८३  २१:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update