- कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर ११३ रनमै समेटियो ।
- हुसेन तलत र उनीश ठाकुरीले समान तीन विकेट लिए ।
- अरिफुल इस्लामले ४३ र पवन सर्राफले ३७ रन बनाए ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटियो ।
जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए । मोइन अली र हरमित सिंहले समान १९ रन बनाए भने जेम्स निसमले १५ रन जोडे । मयन यादवले १४ तथा अनिल शाहले ११ रन बनाए । अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।
कर्णालीका बलर हुसेन तलत र उनीश ठाकुरीले समान तीन विकेट लिए । नन्दन यादवले दुई तथा सोमपाल कामीले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३२ रन बनाएको थियो ।
कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । उनले २९ बलमा चार छक्का प्रहार गरे । पवन सर्राफले ३७ बलमा तीन छक्कासहित ३७ रनको योगदान दिए । दीपक डुम्रेले पाँच बलमा दुई छक्कासहित १३ रन बनाए भने गुल्सन झाले १२ रन जोडे ।
जनकपुरका बलर हरमित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए । राहुल यादवले चार ओभरमा १५ रन दिएर दुई विकेट लिए । मोइन अलीले पनि दुई विकेट लिए भने ललित राजवंशीले एक विकेट हात पारे । रासस
