- वार्षिक कार्ययोजना तयार गरी समयबद्ध रूपमा कार्यान्वयन गर्न निर्देशन ।
- बेरुजु घटाउन, बजार अनुगमन सघन बनाउन र ठगी नियन्त्रण गर्न निर्णय ।
- नागरिकमैत्री सेवा प्रवाहका लागि एकल बिन्दु सेवा लागू गर्नुपर्ने ।
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तथा नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले सरकारी कार्ययोजनाको विस्तृत कार्यान्वयन योजना तयार गरी समयबद्ध रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
बैठकले महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजु फछ्र्योट तथा न्यूनीकरणका लागि कार्ययोजना बनाउन निर्देशन दिएको छ । उपभोक्ता ठगी, मिसावट र कृत्रिम अभाव नियन्त्रण गर्न सघन बजार अनुगमन गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै, तिहार तथा छठमा शान्ति सुरक्षा चुस्त राख्ने, सार्वजनिक खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ कार्यान्वयन गर्ने निर्णय भएको छ ।
नागरिकले सरल, सहज र प्रभावकारी रूपमा सेवा पाउने सुनिश्चितताका लागि नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयमा एकल बिन्दु सेवा व्यवस्था गरी नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने बैठकले निर्णय गरेको जनाइएको छ । रासस
