RayNewsDaily
राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षको भेट, जलवायु परिवर्तनमा सहकार्यको प्रस्ताव
  • जलवायु परिवर्तन र हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा नेपाल-स्विट्जरल्यान्ड सहकार्य गर्न इच्छुक ।
  • नेपालको शान्ति प्रक्रिया, लोकतन्त्र र सामाजिक-आर्थिक विकासमा स्विट्जरल्यान्डको सहयोगको प्रशंसा ।
  • हिमाली जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीमा सहकार्य गर्न स्विट्जरल्यान्ड तयार ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताउनुभएको छ ।

नेपाल भ्रमणमा रहनुभएका स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट सिर्जित असर समाधान गर्न नेपाल सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

“नेपालको शान्ति प्रक्रियामा स्विट्जरल्यान्ड सरकारले गरेको निरन्तर सहयोग हाम्रा लागि महत्त्वपूर्ण छ । नेपालको लोकतन्त्र, सङ्घीयता, स्थानीय शासन तथा सामाजिक-आर्थिक विकासलाई सुदृढ गर्न स्विट्जरल्यान्डले लामो समयदेखि गर्दै आएको सहयोगको म प्रशंसा गर्दछु”, भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयो ।

राष्ट्रपति पौडेलले स्विट्जरल्यान्डको सुदृढ लोकतान्त्रिक मूल्य र मान्यताबाट आफू निरन्तर प्रभावित रहेको बताउनुभयो ।

सो अवसरमा स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजले हिमालहरूमा परिवर्तन भइरहेको उल्लेख गर्दै त्यसबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो ।

स्विट्जरल्यान्डले यस क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै उहाँले नेपालसँग सहकार्य गरेर अगाडि बढ्न आफ्नो देश तयार रहेको बताउनुभयो । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update