- विपद्का बेला दूरसञ्चार सेवा तत्काल सञ्चालन गर्न तयारी अवस्थामा रहनुपर्नेमा जोड ।
- भोटेकोशी बाढीपछि अवरुद्ध सेवा छिटो पुनःस्थापना गर्ने कर्मचारी सम्मानित ।
- नेपाल टेलिकमलाई सबल, जनमुखी र नागरिकको हितमा काम गर्ने संस्था बनाउन निर्देशन ।
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विपद्का बेला नेपाल टेलिकमलाई तयारी अवस्थामा राख्नुपर्ने बताउनुभएको छ ।
गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण अवरुद्ध दूरसञ्चार सेवा छिटो पुनःस्थापना गर्न योगदान गर्ने कर्मचारीलाई सम्मान गर्न आज आयोजित कार्यक्रममा उहाँले विपद्का बेला पाँच सेकेन्डअघि सूचना पाउनेको जीवन बच्न सक्ने भएकाले दूरसञ्चार सेवालाई तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिनुभयो ।
सबै सरोकार भएका सङ्घसंस्थाबीच सहकार्य र समन्वय गरेर काम गरिएकाले बाढी प्रभावित क्षेत्रमा छिटो दूरसञ्चार सेवा सञ्चालन गर्न सकिएको उहाँले बताउनुभयो ।
“विपद्का बेला टेलिकमका कर्मचारीले तोकिएभन्दा बढी काम गरेका छन्, जसका कारण बाढी प्रभावित क्षेत्रमा छिटो दूरसञ्चार सेवा दिन सकियो । ऊर्जा मन्त्रालयले पनि युद्धस्तरमा काम गरेर ऊर्जाका संरचना बनायो । यसले पनि दूरसञ्चार सेवा पुनः सुरु गर्न सजिलो भएको हो”, मन्त्री तिमिल्सिनाले भन्नुभयो ।
नागरिकले नेपाल टेलिकमबाट धेरै अपेक्षा गरेको उल्लेख गर्दै उहाँले निजी कम्पनीले जस्तै छिटो सेवा दिने कार्यलाई बढाउनुपर्ने बताउनुभयो । कर्मचारीले बोल्ने शब्दले समेत कम्पनीको प्रतिष्ठामा प्रभाव पार्ने भएकाले यसतर्फ सचेत रहन उहाँले निर्देशन दिनुभयो ।
प्रविधिले तीव्र फड्को मारिरहेको वर्तमान समयमा नेपाल टेलिकममा सकारात्मक परिवर्तन देख्न चाहेको पनि मन्त्री तिमिल्सिनाले बताउनुभयो । बलियो, सबल र जनमुखी टेलिकम भए सबैको हित प्रवर्द्धन हुने भएकाले सोहीअनुसार काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
संस्थाको सुशासन र सबलीकरणमा काम गरेर आगामी दिनमा सयौँ कर्मचारीलाई सम्मान गर्न पाइने विश्वास व्यक्त गर्दै मन्त्री तिमिल्सिनाले नेपाल टेलिकमलाई नागरिकको हितमा काम गर्ने कम्पनीका रूपमा विकास गर्न निर्देशन दिनुभयो ।
टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले यसअघि प्रत्येक वर्ष वार्षिकोत्सवका अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गर्ने गरिएको जानकारी दिनुभयो । तर, यसपटक भोटेकोशी बाढीपछि अवरुद्ध सेवा छिटो सञ्चालन गर्न योगदान गर्ने कर्मचारीलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।
मन्त्रालयका सचिव एवं टेलिकम सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा टेलिकम वायरलेस निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारी र सम्मानितमध्येका इञ्जिनियर निशान्त नेपाललगायतले विपद्का बेला अवरुद्ध सेवा पुनः सञ्चालन गर्दाका अनुभव सुनाउनुभएको थियो ।
त्यसअघि मन्त्री तिमिल्सिनाले बबरमहलमा नवनिर्मित हुलाक प्रशिक्षण केन्द्र भवनको निरीक्षण गर्नुभएको थियो । हुलाक सेवा विभागका महानिर्देशक र केन्द्रका कार्यालय प्रमुखले उहाँलाई नवनिर्मित भवनबारे जानकारी गराउनुभएको थियो । रासस
