- विश्वकपको तयारीका लागि चीनमा सिरिज खेल्दै नेपाली टोली ।
- नेपालसहित चार टोलीको सहभागिता, भोलिदेखि प्रतियोगिता ।
- खेलाडीको कमजोरी सुधार्न र अनुभव हासिल गर्न सिरिज उपयोगी हुने ।
काठमाडौँ । चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु-१९ सिरिज’ मा सहभागी हुन जाने नेपाली यु-१९ महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज यहाँ कार्यक्रम आयोजना गरी टोलीको बिदाइ गरेको हो ।
कार्यक्रममा क्यानका उपाध्यक्ष रोशन सिंहले आगामी वर्ष हुने आइसिसी यु-१९ महिला विश्वकपको तयारीस्वरूप नेपाली टोलीले चीनमा सिरिज खेल्न लागेको जानकारी दिनुभयो । खेलाडीले पर्याप्त अभ्यासको अवसर पाएकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै उहाँले परिपक्व खेल प्रदर्शन गर्न खेलाडीलाई सुझाव दिनुभयो ।
टोलीका मुख्य प्रशिक्षक महेशप्रसाद रिजालले चीन भ्रमण खेलाडीका कमजोरी सुधार्ने र अनुभव हासिल गर्ने महत्त्वपूर्ण अवसर भएको बताउनुभयो । सिरिजले टोलीको समग्र क्षमता मूल्याङ्कन गर्न र आगामी प्रतियोगिताका लागि बलियो टोली निर्माण गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।
टोलीकी कप्तान सोनी पाख्रिनले प्रतियोगिताका लागि आफूहरू पूर्ण रूपमा तयार रहेकाले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
क्यानका अनुसार ‘बेल्ट एन्ड रोड सिरिज’ भोलिदेखि कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्यान्ड सहभागी हुनेछन् । नेपालले प्रतियोगितामा तीनवटै टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।रासस
