- कात्तिकदेखि फागुनसम्म भक्काको माग उच्च ।
- दैनिक १० देखि १५ किलो चामलको पीठोको भक्का बिक्री ।
- परम्परागत खाजाले हजारौँ आदिवासी महिलालाई स्वरोजगार ।
झापा । चिसो मौसम सुरु भएसँगै झापा, मोरङ र सुनसरीलगायत पूर्वी तराईका जिल्लामा रैथाने खाजा भक्काको व्यापार फस्टाउन थालेको छ । राजवंशी समुदायको परम्परागत परिकार भक्का अहिले सबै समुदाय र उमेर समूहका उपभोक्ताको रोजाइमा पर्न थालेको छ ।
मेचीनगर नगरपालिका-१५ की जागनी राजवंशी एक दशकदेखि घरबाट दुई किलोमिटर टाढा धुलाबारी मोडमा दैनिक तात्तातो भक्का बेच्दै आउनुभएको छ । उहाँका अनुसार दैनिक १० किलो चामलको पीठोको भक्का बिक्री हुने गरेको छ ।
“हरेक दिन १० किलो पीठोको भक्का बेच्ने गरेको छु”, उहाँले भन्नुभयो, “घरपरिवारको खर्च चलाउन मज्जाले पुगिरहेको छ ।”
हरेक बिहान ५ बजेतिर भक्का बनाउने भाँडाकुँडा, चुलो, दाउरा र सालको पात लिएर बजार पुग्ने जागनीले सालको हरियो पातमा राखेर ग्राहकलाई तातो भक्का बिक्री गर्नुहुन्छ । चखिलो अचारसँग भक्का खाँदा ग्राहकले स्वादिलो मान्ने गरेका छन् ।
चामलको पीठोलाई बाफमा पकाएर भक्का बनाइन्छ । बाफमा उसिनेर तयार गरिने भएकाले यसमा तेल वा चिल्लो पदार्थ प्रयोग गर्नुपर्दैन । भक्का चिया र अचारसँग खाने चलन छ ।
मेचीनगर-१० की अम्ला राजवंशीले पनि विगत डेढ दशकदेखि खयरडाँगी चोकमा भक्का बेच्दै आउनुभएको छ । उहाँले दैनिक १५ किलोसम्म चामलको पीठोको भक्का बिक्री हुने गरेको बताउनुभयो ।
बिहानी पदयात्रामा निस्कने मानिस उहाँका नियमित ग्राहक हुन् । बालबालिका तथा वृद्धवृद्धासमेत भक्का खान पसलमा आउने गरेको उहाँले बताउनुभयो ।
“बिहानको चार-पाँच घण्टा त हो नि भक्का बेच्ने, दिउँसो अरू कामधन्दामा लाग्न समय मिलिहाल्छ”, उहाँले भन्नुभयो, “महिनामा रु ५० देखि रु ७५ हजारसम्मको भक्का बिक्री हुन्छ । यसबाट आधाभन्दा बढी नाफा भइहाल्छ ।”
स्थानीय व्यापारीका अनुसार जाडोयाममा माग बढ्ने भएकाले कात्तिकदेखि फागुनको पहिलो सातासम्म भक्काको व्यापार बढी हुने गरेको छ । झापाको राजमार्ग उत्तरको तुलनामा दक्षिणी क्षेत्रमा भक्का बिक्री गर्ने पसल धेरै छन् ।
भक्काको व्यापारले हजारौँ आदिवासी महिलालाई स्वरोजगार र आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुर्याएको छ । यद्यपि, नयाँ पुस्ता भने यो व्यवसायप्रति कम आकर्षित देखिएको छ ।
मेची बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत तेह्रथुमको फेदाप-१ की १९ वर्षीया रमिला लिम्बूलाई पनि भक्का मन पर्छ ।
“झापाका गल्ली र चोकमा जाडो मौसममा जताततै भक्का खान पाइँदोरहेछ”, उहाँले भन्नुभयो, “भद्रपुरमा हामी हरेक बिहान क्याम्पस जानुअघि चियासँगै भक्काको खाजा खाने गर्छौँ । बिरे नुन मिसाएको टमाटर र खुर्सानीको अचारसँग भक्का चोभेर खाँदा गज्जबको स्वाद मिल्छ ।”
विद्यालय तथा क्याम्पस जाने विद्यार्थी र बिहानी पदयात्रा गर्ने सर्वसाधारण भद्रपुरका गल्लीमा भक्का बिक्रीका लागि राखिएका फुटपाथ पसलमा झुम्मिने गरेका छन् ।
पूर्वी नेपालको मौलिक सांस्कृतिक पहिचान बनेको भक्काको रैथाने स्वाद प्रवर्द्धन गर्न झापामा बर्सेनि ‘भक्का दिवस’ समेत मनाउने गरिएको छ । रासस
