- लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणमा कांग्रेसको जोड ।
- सञ्चारगृहमा प्रहरी प्रवेश र पत्रकार पक्राउको घटनाको वास्तविकता सार्वजनिक गर्न माग ।
- कानुनभन्दा माथि रहेर राज्य सञ्चालन गर्ने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक ।
ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य नहुने बताउनुभएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आज आयोजित ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारको सम्मानबाट मात्रै सुशासन कायम गर्न सकिने बताउनुभयो ।
सरकारलाई जवाफदेही बनाउनु र लोकतान्त्रिक व्यवस्थाका आधारभूत मान्यताको संरक्षण गर्नु प्रतिपक्षको दायित्व भएको उल्लेख गर्दै सभापति थापाले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो ।
उहाँले लोकतन्त्र, नागरिकका मौलिक हक र प्रेस स्वतन्त्रताका विषयमा सरकारले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सभापति थापाले सञ्चारमाध्यममा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गरिएको घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो । सञ्चारगृहमा प्रहरी प्रवेश हुनु सकारात्मक नभएको उल्लेख गर्दै उहाँले उक्त घटनाले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको बताउनुभयो ।
घटनाबारे प्रहरीका तर्फबाट आएका फरक-फरक वक्तव्य र प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक गरिएका धारणाले थप अन्योल सिर्जना गरेको उहाँको भनाइ थियो ।
उहाँले सामान्य वक्तव्य जारी गरेर मात्रै घटनालाई टुङ्ग्याउन नहुने भन्दै त्यसको वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो ।
सरकारको अधिकार कानुनबाट निर्देशित हुनुपर्ने उल्लेख गर्दै सभापति थापाले राज्य सञ्चालनमा व्यक्तिगत इच्छा र आदेशलाई कानुनभन्दा माथि राख्ने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक हुने बताउनुभयो ।
“सरकारको अधिकार कानुनबाट निर्देशित हुनुपर्छ, सरकारमा बसेका व्यक्तिको इच्छा नै कानुन हो भन्ने सोच लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन । राज्यका निकाय कसैका निजी आदेश पालना गर्ने संस्था होइनन्”, उहाँले भन्नुभयो ।
सरकारको कामकारबाहीमा कानुनी प्रक्रिया, संस्थागत मर्यादा र नागरिक अधिकारको सम्मान अनिवार्य हुनुपर्ने उहाँले बताउनुभयो ।
कानुनी शासनमा कसैले पनि कानुनभन्दा माथि रहेर काम गर्न नपाउने उल्लेख गर्दै सभापति थापाले सरकारका हरेक गतिविधि विधि र प्रक्रियासम्मत हुनुपर्नेमा जोड दिनुभयो । रासस
