- विवादित न्यायाधीशका विषयमा संसद्मार्फत प्रक्रिया अघि बढाउने निर्णय ।
- संसदीय दल र संसदीय समितिलाई प्रक्रिया अघि बढाउन निर्देशन ।
- न्याय क्षेत्रको पुनर्संरचना गर्नुपर्ने पार्टीको निष्कर्ष ।
रे समाचार/काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवादित न्यायाधीशका विषयमा महाअभियोग प्रक्रिया अघि बढाउने तयारी गर्न संसदीय दललाई निर्देशन दिएको छ ।
शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले न्याय क्षेत्रसँग सम्बन्धित बाहिर आएका विषयलाई संसद्मार्फत निरुपण गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले संसदीय समितिलाई पनि प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
‘समग्र न्याय क्षेत्रकै पुनर्संरचना गर्ने हो भने यसका लागि संवैधानिक बाटो संसद् नै हो । संसद्मार्फत यसको प्रक्रिया अघि बढाइनुपर्छ’, खरेलले भन्नुभयो, ‘त्यो प्रक्रिया अघि बढाउन रास्वपाको आजको सचिवालय बैठकले संसदीय दललाई निर्देशन दिइसकेको छ ।’
महाअभियोग अघि बढ्ने, छानबिन मात्रै हुने वा अन्य प्रक्रिया अपनाइने भन्ने विषय संसदीय समितिले तय गर्ने उहाँको भनाइ छ । न्याय क्षेत्रको पनि पुनर्संरचना हुनुपर्ने पार्टीको निष्कर्ष रहेको खरेलले बताउनुभयो । उहाँले औपचारिक रूपमा न्याय क्षेत्रमाथि उठेका प्रश्नको निरुपण गर्ने प्रक्रिया अघि बढाउन संसदीय दललाई निर्देशन दिइने जानकारी दिनुभएको थियो ।
