- पत्रकारमाथिको सोधपुछ र समाचार कक्षमा प्रहरी प्रवेशबारे छानबिन गर्न निर्देशन ।
- प्रेस स्वतन्त्रता विरोधी गतिविधिमा संलग्नलाई कारबाही गर्न माग ।
- कारबाहीमा ढिलासुस्ती नगर्न सरकारलाई ध्यानाकर्षण ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचारका विषयलाई लिएर पत्रकार तथा सञ्चारकर्मीमाथि गरिएको सोधपुछ र समाचार कक्षमा प्रहरी प्रवेश गरी भएका गतिविधिको छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले घटनामा संलग्न दोषीलाई यथाशीघ्र कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।
“पत्रकार तथा सञ्चारकर्मीमाथि सोधपुछ वा पक्राउ गर्ने काम भयो, समाचार कक्षमा पुगेर जे-जस्ता क्रियाकलाप भए, यो किन र कसरी भयो, कसले गर्यो भन्ने विषयमा छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन बैठकले सरकारलाई निर्देशन दिएको छ”, उहाँले भन्नुभयो ।
बैठकले प्रेस स्वतन्त्रता विरोधी गतिविधिमा संलग्नमाथि हुने कारबाहीमा कुनै सम्झौता नगर्न र ढिलासुस्ती नगर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
“राष्ट्रिय स्वतन्त्र पार्टी मौलिक अधिकारका रूपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र मानव अधिकारको सम्मान गर्दछ”, बैठकपछि प्रवक्ता खरेलले भन्नुभयो, “प्रेस स्वतन्त्रताको सन्दर्भमा रास्वपा कहिल्यै कसैसँग पनि सम्झौता गर्दैन ।”
प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता सुनिश्चित गर्न पनि बैठकले सरकारलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।
“अबका दिनमा प्रेस स्वतन्त्रता हननका घटना, पत्रकार धरपकड वा समाचार लेखेकै आधारमा सञ्चारमाध्यम, प्रकाशक, प्रसारक वा पत्रकार तथा सञ्चारकर्मीले यस्तो स्थिति भोग्नु हुँदैन भन्नेमा रास्वपा स्पष्ट छ”, प्रवक्ता खरेलले भन्नुभयो । रासस
