- सात देशका ट्राभल क्रिएटर नेपालमा ।
- प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको प्रचार ।
- टिकटकमार्फत विश्वभर पुग्ने नेपाली पर्यटन ।
काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललगायत विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्काका सामग्री निर्मातालाई नेपाल आमन्त्रण गरिएको बोर्डले जनाएको छ ।
नेपाल आएका उनीहरूले यहाँका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि र पर्यटनका विविध पक्ष समेटिएका भिडियो तथा डिजिटल सामग्री तयार गर्नेछन् । ती सामग्री टिकटकसहितका सामाजिक सञ्जालमार्फत विश्वभरका दर्शकमाझ प्रस्तुत गरिनेछ ।
युएई र ट्युनिसियाका तीन जना पोखरामा तथा अन्य सामग्री निर्माता काठमाडौँमा सामग्री उत्पादन गरिरहेका छन् । उनीहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यका साथै नेपालका सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय महत्वका स्थल र उत्पादनसम्बन्धी सामग्री तयार गर्ने नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले राससलाई जानकारी दिनुभयो ।
नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई छोटा भिडियोमार्फत विश्वसमुदायसमक्ष प्रस्तुत गरिनेछ । रासस
