RayNewsDaily
पोखरामा तार भूमिगत, जीर्ण पोल हटेपछि फर्कियो सहरको सौन्दर्य
  • पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ८२ प्रतिशत सम्पन्न ।
  • एक अर्ब ७० करोड रुपैयाँको आयोजना आगामी वैशाखभित्र सक्ने लक्ष्य ।
  • अव्यवस्थित तार र पोल हटाउँदा सहरी सौन्दर्यसँगै दुर्घटनाको जोखिम घट्ने ।

राम थापा/गण्डकी । पोखराका मुख्य सडक र पर्यटकीय क्षेत्रमा अव्यवस्थित तार तथा जीर्ण विद्युत् पोल हटाइएपछि सहरको सौन्दर्य फर्किन थालेको छ । नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गर्न थालेपछि सडक किनारका गुजुल्टिएका तार हटेका छन् । यसले सहरलाई व्यवस्थित बनाउनुका साथै दुर्घटनाको जोखिमसमेत घटाउने अपेक्षा गरिएको छ ।

पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखराको २२३ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने काम भइरहेको छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार हालसम्म १६५.७ किलोमिटर तार बिछ्याइएको छ भने ५५.२ किलोमिटर क्षेत्रमा विद्युत् प्रवाह भइसकेको छ । “पोखरामा आयोजनाको भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ, आउँदो वैशाखभित्रमा काम सक्ने लक्ष्य छ”, उहाँले भन्नुभयो, “छ हजार घरमा भूमिगत प्रणालीबाट विद्युत् सेवा पुर्‍याइनेछ ।”

पोखरा महानगरपालिका-१४ चाउथेदेखि कुँडहर, अमरसिंहचोक, बुद्धचोक र सेती पुलसम्म पृथ्वी राजमार्ग क्षेत्रमा पर्ने ४०० भन्दा बढी घरमा भूमिगत प्रणालीबाट विद्युत् सेवा पुगिसकेको छ । सेती पुलदेखि पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक हुँदै लेकसाइड जोड्ने मुख्य सडकमा पनि तार बिछ्याउने काम सकिएको छ । लेकसाइडका भित्री सडकमा तार बिछ्याइसकिएको र केही क्षेत्रमा विद्युत् जोड्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

सेती पुल निर्माणाधीन रहेकाले पृथ्वीचोकतर्फ बिछ्याइएको तारमा विद्युत् प्रवाह गर्न नसकिएको इन्जिनियर सुवेदीले बताउनुभयो । पुल निर्माणको काम अन्तिम चरणमा रहेकाले छिट्टै बाँकी क्षेत्रमा पनि विद्युत् सेवा सञ्चालन हुने उहाँको भनाइ छ ।

आयोजनाले मुख्य तथा सहायक सडकमा बिजुलीका तारसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबरसमेत भूमिगत गरिरहेको छ । पहिलो चरणमा मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आवतजावत हुने स्थानलाई प्राथमिकता दिइएको हो ।

पोखरामा तार भूमिगत तथा वितरण प्रणाली सुदृढीकरणका लागि एक अर्ब ७० करोड रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार बिछ्याइएको हो । सन् २०२२ को जनवरीमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले ठेक्का पाए पनि इन्जिनियरिङ डिजाइन, उपकरण खरिद र निर्माणमा भएको ढिलाइका कारण काम निर्धारित समयमा सुरु हुन सकेको थिएन ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख सुजितकुमार देवकोटाले अव्यवस्थित तार र जीर्ण पोल हटाउँदा विद्युत् तथा सवारी दुर्घटनाको जोखिम घट्ने बताउनुभयो । उहाँका अनुसार पोलमा सवारीसाधन ठोक्किने र करेन्ट लाग्ने घटनाबाट मानवीय क्षति हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रका अनुसार पोखरा उपत्यकाभरिका पुराना पोल र तार विस्थापन गर्न ठूलो बजेट आवश्यक पर्छ । चार दशकअघिका विद्युत् लाइनसमेत विस्थापित गर्नुपर्ने अवस्था छ ।

आयोजनाअन्तर्गत भरतपुरमा १५६.३३ किलोमिटर क्षेत्रमा तार भूमिगत गरिएको छ । त्यहाँ ९५ प्रतिशत काम सकिएको र पोखरा तथा भरतपुरको समग्र भौतिक प्रगति ८८ प्रतिशत पुगेको इन्जिनियर सुवेदीले जानकारी दिनुभयो । भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो मानिन्छ । पोखरा उपत्यकाभरि तार भूमिगत गर्न पाँच अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने उहाँले बताउनुभयो ।

“यो महँगो परियोजना हो, एकैसाथ ठूलो लगानी गर्न सरकारले पनि सक्दैन, प्रभाव र उपयोगिता हेरेर पोखराका अरू ठाउँमा पनि यो काम विस्तार हुन्छ”, उहाँले भन्नुभयो । प्राधिकरणले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा पोखरा र भरतपुरमा तार भूमिगत गर्ने आयोजना सञ्चालन गरिरहेको छ । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update