- पोखरामा स्काइडाइभिङ अब वर्षभरि नियमित सञ्चालनमा
- अक्टोबरयता ५५ जनाले गरे स्काइडाइभिङ, नेपालीमा पनि आकर्षण बढ्दो
- तेह्र हजार फिटमाथिबाट हाम फालेर हिमाल र प्राकृतिक सौन्दर्यको अनुभव
राम थापा/गण्डकी । शरद् याम चलिरहेको छ । निलो आकाश र सेताम्मे हिमालले पोखराको सौन्दर्य थप खुलेको छ । दसैँयता पर्यटकको चहलपहल पनि बाक्लिएको छ । पर्यटनको राजधानी पोखरा यतिबेला पर्यटकीय गतिविधिले गुल्जार बनेको छ ।
पोखरामा पर्यटकीय गतिविधि बढेसँगै साहसिक खेलप्रति आकर्षण पनि बढेको छ । यहाँ दैनिक प्याराग्लाइडिङदेखि हट एयर बेलुनसम्म, अल्ट्रालाइटदेखि स्काइडाइभिङसम्मका गतिविधि सञ्चालन भइरहेका छन् । पोखराको पर्यटन प्रकृति, संस्कृति र साहसमा आधारित मानिन्छ । यसैमध्येको एक साहसिक गतिविधि हो, स्काइडाइभिङ ।
साहस र रोमाञ्चकताको अनुभव लिन चाहने पर्यटकको रोजाइमा स्काइडाइभिङ पर्ने गरेको छ । तेह्र हजार फिटमाथि उडिरहेको हेलिकप्टरबाट हाम फालेर प्यारासुटको सहायताले जमिनमा अवतरण गर्नु धेरैका लागि चुनौतीपूर्ण हुन्छ । तर, साहसिक अनुभव लिन चाहने पर्यटकका लागि यो आफ्नो हिम्मत जाँच्ने र सोख पूरा गर्ने माध्यम बनेको छ ।
विसं २०६७ मा पोखरामा पहिलोपटक परीक्षण उडान गरिएको स्काइडाइभिङ अब वर्षभरि नियमित सञ्चालन हुने भएको छ । यसअघि वर्षको एक-दुई याममा मात्रै सञ्चालन हुँदै आएको थियो ।
हेलिकप्टर सेवा प्रदायक सिम्रिक एयरसँगको सहकार्यमा स्काइडाइभिङ इन नेपाल प्रालिले पोखरामा यो सेवा दिँदै आएको छ । पोखरा महानगरपालिका-२३ पामे, लौराकमा रहेको एभिया क्लबको हवाई खेलकुद अभ्यास मैदानबाट स्काइडाइभिङ भइरहेको कम्पनीका प्रशिक्षक एलिस थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अक्टोबर महिनायता ३५ जनाले पाइलटसहित (टेन्डम) र २० जनाले एकल (सोलो) स्काइडाइभिङ गरेका छन् । असोज-कात्तिकमा मौसम खुला हुने भएकाले यस याममा स्काइडाइभिङका लागि आउने पर्यटक बढी हुने गरेको प्रशिक्षक थापाले बताउनुभयो ।
“तालिमप्राप्त र अनुभवी विदेशी नागरिकहरू एकल (सोलो) स्काइडाइभिङका लागि पोखरा आउन रुचाउँछन्, पछिल्लो समय नेपालीहरूमा पनि स्काइडाइभिङको आकर्षण बढेको छ”, उहाँले भन्नुभयो, “अधिकांश पाइलटसहित (टेन्डम) उडान गर्नेहरू हुन्छन् ।”
पोखराको पुरानो विमानस्थलबाट उडेको हेलिकप्टर लौराकबाट १३ हजार फिटको उचाइमा पुगेपछि पर्यटकले स्काइडाइभिङ गर्ने गरेका छन् । हेलिकप्टरबाट हाम फालेको करिब ५० सेकेन्डपछि प्यारासुट खुल्छ । त्यसपछि सातदेखि आठ मिनेटसम्म आकाशमा उड्दै पर्यटकले अवतरण गर्ने गरेका छन् ।
कम्पनीले स्काइडाइभिङका लागि नेपाली नागरिकलाई डिलक्स प्याकेजको एक लाख दुई हजार रुपैयाँ, भिआइपी प्याकेजको एक लाख २३ हजार रुपैयाँ र डायमन्ड प्याकेजको एक लाख ४९ हजार रुपैयाँ शुल्क तोकेको छ । विदेशी नागरिकले यी प्याकेजका लागि क्रमशः ७५०, ९०० र एक हजार २०० अमेरिकी डलर तिर्नुपर्ने प्रशिक्षक थापाले बताउनुभयो ।
उहाँसहित सुवास थापा, मनिष हिराचन र नेपालको पहिलो महिला स्काइडाइभर यसोदा केसी थापाले पोखरामा स्काइडाइभिङ गराउँदै आउनुभएको छ ।
“नेपालमै केही गरौँ भन्ने सोचका साथ स्काइडाइभिङ सुरु गरेका हौँ, केही वर्षअघिसम्म पोखरामा विदेशीले मात्र स्काइडाइभिङ गराउँथे, अहिले हामी सबै नेपाली प्रशिक्षक छौँ”, प्रशिक्षक थापाले भन्नुभयो ।
स्काइडाइभिङलाई नेपालमा व्यावसायिक रूपमा अगाडि बढाउने उद्देश्यले आफूले विदेशमा तालिम लिएको उहाँले बताउनुभयो । पोखरालाई स्काइडाइभिङलगायत साहसिक खेलको केन्द्र बनाउन सकिए रोजगारी सिर्जना हुनुका साथै देशको अर्थतन्त्रमा समेत ठूलो योगदान पुग्ने उहाँको भनाइ छ । पोखराको आकाशबाट देखिने हिमाल र प्राकृतिक सौन्दर्यले स्काइडाइभिङ गर्ने पर्यटकलाई आकर्षित गर्ने गरेको उहाँले बताउनुभयो ।
कम्पनीका सञ्चालक निर्मल पाण्डेका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र (आरएओसी) दिएपछि पोखरामा नियमित रूपमा स्काइडाइभिङ सञ्चालन गर्न सहज भएको हो । गत वर्षसम्म प्राधिकरणले एकपटकमा जम्मा १५ दिनका लागि मात्रै स्काइडाइभिङको अनुमति दिँदै आएको थियो ।
आरएओसी उपलब्ध गराउन कम्पनीले गरेको माग प्राधिकरणबाट सुनुवाइ भएपछि वर्षभरि सेवा सञ्चालन गर्न सहज भएको सञ्चालक पाण्डेले बताउनुभयो । एरियल स्पोर्ट्स विधामा पर्ने स्काइडाइभिङलाई दिगो र नियमित बनाउन सके धेरै विदेशी पर्यटकलाई पोखरामा आकर्षित गर्न सकिने उहाँको भनाइ छ ।
हाल स्काइडाइभिङ इन नेपाल प्रालिले मात्रै प्राधिकरणबाट आरएओसी प्राप्त गरेको छ । कम्पनीले तालिमप्राप्त र अनुभवी नेपाली प्रशिक्षकमार्फत स्काइडाइभिङ गराउँदै आएको छ । पोखरा स्काइडाइभिङका लागि आकर्षक गन्तव्य रहेको सञ्चालक पाण्डेले बताउनुभयो ।
प्राधिकरणले तोकेको मापदण्ड पूरा गर्ने स्काइडाइभिङ कम्पनीलाई मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र दिने व्यवस्था छ । उक्त प्रमाणपत्र प्राप्त गर्ने कम्पनीले जुनसुकै समयमा स्काइडाइभिङ सञ्चालन गर्न पाउँछन् ।
सञ्चालन प्रमाणपत्र लिन कम्पनीसँग आफ्नै वायुयान (हेलिकप्टर वा जहाज) हुनुपर्ने वा हेलिकप्टर सेवा प्रदायकसँग पाँच वर्षे सम्झौता गरेको हुनुपर्ने प्रावधान छ । त्यस्तै, स्काइडाइभिङ सञ्चालन गर्न छुट्टै आधारस्थल, एयर स्पेस र आफ्नै प्रशिक्षकसमेत हुनुपर्ने व्यवस्था रहेको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखरा साहसिक खेल पर्यटनका हिसाबले पनि अग्रणी स्थानमा रहेको बताउनुभयो ।
“पोखराको पर्यटन नेचर, कल्चर र एडभेन्चरको समिश्रण हो, यी तीनै क्षेत्रबाट हामीले ठूलो लाभ लिन सक्छौँ”, उहाँले भन्नुभयो, “साहसिक पर्यटन गतिविधिमा विदेशी पर्यटकलाई आकर्षित गर्न सकियो भने पोखराको पर्यटनले नयाँ फड्को मार्छ ।” रासस
