RayNewsDaily
शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न १,४१० जनालाई अनुमति
  • १६१ टोलीका १,४१० आरोहीलाई आरोहण अनुमति, ३४१ महिला ।
  • मनास्लु आरोहणका लागि मात्रै ५०० जनाले अनुमति लिए ।
  • आरोहण अनुमतिबाट ३१ करोड ८० लाख रुपैयाँभन्दा बढी रोयल्टी सङ्कलन ।

काठमाडौँ । शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि १६१ टोलीले अनुमति लिएका हुन् ।

विभागकी शाखा अधिकृत सुधा रेग्मीका अनुसार अनुमति लिनेमा एक हजार ६९ पुरुष र ३४१ महिला छन् । आरोहण अनुमति प्रदान गरेबापत विभागले ३१ करोड ८० लाख ५० हजार ७७८ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

आरोहण अनुमति लिने हिमालमध्ये सबैभन्दा धेरै मनास्लुमा आरोही छन् । आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन् । तीमध्ये ३७३ पुरुष र १२७ महिला छन् । मनास्लु आरोहण अनुमतिबाट मात्रै २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ ।

धौलागिरि-१ आरोहणका लागि छ टोलीका ३७ जनाले अनुमति लिएका छन् । उनीहरूबाट ८४ लाख ७३ हजार ६५० रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । मकालु हिमाल आरोहणका लागि एउटा टोलीका तीन जनाले अनुमति लिएका छन् । उनीहरूबाट छ लाख ८८ हजार ५० रुपैयाँ राजस्व सङ्कलन भएको शाखा अधिकृत रेग्मीले बताउनुभयो ।

त्यस्तै, हिम्लुङ हिमाल आरोहणका लागि १२ टोलीका १२१ जनाले अनुमति लिएका छन् । उनीहरूबाट ७४ लाख २७ हजार ७२० रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । आमादब्लम हिमाल आरोहणका लागि ३२ टोलीका ३८६ जनाले अनुमति लिएका छन् । उनीहरूबाट पाँच करोड ७६ लाख ९९ हजार ६५० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

शाखा अधिकृत रेग्मीका अनुसार पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण-४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल र पेरीलगायतका हिमाल आरोहणका लागि पनि अनुमति प्रदान गरिएको छ ।

आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १४१ जना छन् । फ्रान्सका १३०, अमेरिकाका ११९, रुसका १०८, बेलायतका ९६, स्विट्जरल्याण्ड र इटलीका ४७-४७, पोल्याण्डका ४१, भारतका ४०, जापानका ३५, नेपालका ३३ र स्पेनका ३१ जनाले अनुमति लिएका छन् ।

विभागले आरोहण अनुमतिबाट २० लाख ८९ हजार ५८४ अमेरिकी डलर अर्थात् ३१ करोड ८० लाख ५० हजार रुपैयाँ रोयल्टी सङ्कलन गरेको जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update