- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी नयाँ ऐन निर्माण अन्तिम चरणमा ।
- सीटीईभीटीको पुनर्संरचना र प्राविधिक शिक्षामा नीतिगत सुधार हुने ।
- भोटेकोशी बाढीबाट भएको क्षतिप्रति स्विस राजदूतद्वारा दुःख व्यक्त ।
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्री पोखरेलको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, बाढीपहिरोबाट भएको क्षतिप्रति संवेदना तथा शिक्षा क्षेत्रमा आगामी सहकार्यका विषयमा छलफल भएको थियो ।
मन्त्री पोखरेलले नेपालको शैक्षिक उन्नयनमा स्विस सरकारले पुर्याउँदै आएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टीईभीटी) सम्बन्धी नयाँ ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । ऐन पारित भएपछि प्राविधिक शिक्षाको क्षेत्रमा नीतिगत सुधार हुनुका साथै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को पुनर्संरचना हुने र प्राविधिक तथा व्यावसायिक शिक्षा थप व्यवस्थित बन्ने उहाँले बताउनुभयो ।
राजदूत मेउलीले हालै भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले नेपाल र स्विट्जरल्याण्डबीच लामो समयदेखि कायम रहेको सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । रासस
