- विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र पूर्वसूचना प्रणाली सुदृढ गर्न आग्रह ।
- नेपालमा विपद्को प्रभाव २.७ अर्ब डलर, पुनर्निर्माणमा ४.८ अर्ब डलर आवश्यक ।
- नेपाल र संयुक्त राष्ट्रसङ्घको आयोजनामा भोटेकोशी-त्रिशूली विपद्बारे क्षेत्रीय संवाद हुने ।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा सिर्जित विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिनुभएको छ ।
थाइल्यान्डको बैङ्ककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटनसत्रमा उहाँले जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग आवश्यक रहेको बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (इएससीएपी) द्वारा आयोजित सम्मेलनमा मन्त्री श्रेष्ठले हालै लाङटाङस्थित लिरुङमा हिमपहिरो तथा बूढीगण्डकी क्षेत्रमा पहिरोका कारण भएको जनधनको क्षति र निर्माणाधीन जलविद्युत् आयोजनामा परेको असरबारे ध्यानाकर्षण गराउनुभयो ।
द्रुत क्षति तथा आवश्यकता आकलनअनुसार विपद्को प्रभाव करिब २.७ अर्ब अमेरिकी डलरबराबर रहेको र पुनर्निर्माणका लागि करिब ४.८ अर्ब डलर आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठले बैङ्कक मन्त्रिस्तरीय घोषणापत्रको मस्यौदाको स्वागत गर्दै सन् २०२६ देखि २०३० सम्मको तेस्रो चरणमा उपग्रहबाट प्राप्त तथ्याङ्क साझेदारी, पूर्वसूचना प्रणाली र प्राविधिक सहयोगलाई सुदृढ बनाउन आग्रह गर्नुभयो ।
हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.०१ प्रतिशत मात्र रहे पनि सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन हासिल गर्ने र स्वच्छ ऊर्जा प्रणालीको रक्षा गर्ने नेपालको प्रतिबद्धता उहाँले दोहोर्याउनुभयो ।
सम्मेलनका अवसरमा अक्टोबर २९ मा नेपाल र इएससीएपीको संयुक्त आयोजनामा ‘सगरमाथादेखि सागरसम्म: भोटेकोशी-त्रिशूली विपद्का पाठहरू’ विषयक क्षेत्रीय संवाद सञ्चालन हुने जानकारी पनि मन्त्री श्रेष्ठले दिनुभयो । रासस
