- साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र सहजीकरणबारे छलफल
- विदेशी शैक्षिक उपाधिको समकक्षता र एनओसी प्रक्रिया सहज बनाउन मन्त्रालय सक्रिय
- नेपाल-साइप्रसबीच उच्च शिक्षाको सहकार्य विस्तार गर्ने प्रतिबद्धता
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच दुई देशको सम्बन्ध र उच्च शिक्षामा सहकार्य विस्तारलगायत विषयमा छलफल भएको छ ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आपसी हित, उच्च शिक्षामा सहकार्य तथा साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटमा साइप्रसका विभिन्न विश्वविद्यालय तथा उच्च शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थीलाई आवश्यक सहयोग उपलब्ध गराउने, उनीहरूको हित संरक्षण गर्ने र सम्भावित समस्या समाधानका लागि सहजीकरण गर्ने विषयमा कुराकानी भएको थियो ।
उच्च शिक्षा अध्ययनको गन्तव्य मुलुकका रूपमा रहेको साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीलाई आवश्यक सहजीकरण गर्न साइप्रस सरकारका तर्फबाट सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो । साथै, उच्च शिक्षाको क्षेत्रमा हुँदै आएको सहकार्यलाई निरन्तरता दिँदै आगामी दिनमा थप विस्तार गर्ने विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा शिक्षामन्त्री पोखरेलले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) उपलब्ध गराउने तथा विदेशबाट प्राप्त शैक्षिक उपाधिको नेपालमा समकक्षता निर्धारण गर्ने प्रक्रिया सहज बनाउन मन्त्रालयले आवश्यक काम गरिरहेको बताउनुभयो ।
उहाँले विगतमा त्रिभुवन विश्वविद्यालयबाट हुँदै आएको शैक्षिक उपाधिको समकक्षता निर्धारणसम्बन्धी कार्य अहिले विश्वविद्यालय अनुदान आयोगमार्फत भइरहेको जानकारी दिनुभयो । यस प्रक्रियामा आवश्यक नीतिगत सुधारसमेत भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।
भेटमा राजदूत भ्रीयोनिडेसले नेपाल र साइप्रसबीच आपसी हितलाई केन्द्रमा राखेर द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउँदै उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस
