- दसैँको बिदासँगै सौराहामा आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्यो
- वाटिका रिसोर्टका सबै कोठा दुई-तीन दिनदेखि भरिए
- बाढीपहिरो र सडक अवरोधले प्रभावित पर्यटन व्यवसायमा उत्साह
नारायणगढ (चितवन) । बाढीपहिरो र सडक अवरुद्ध हुँदा प्रभावित बनेको सौराहाको पर्यटन व्यवसायमा पछिल्लो समय चहलपहल बढेको छ । दसैँको बिदा र अनुकूल मौसमका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
दसैँको सुरुआती दिनमा अपेक्षाअनुसार आन्तरिक पर्यटक नआए पनि पछिल्ला दिनमा पर्यटकको आगमन उल्लेख्य बढेको व्यवसायीले बताएका छन् । पर्यटकको चहलपहल बढेसँगै होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायमा पनि व्यस्तता बढेको छ ।
सौराहामा पर्यटन व्यवसाय गर्दै आउनुभएका गोकर्ण गिरीले पर्यटकको आगमन बढेसँगै व्यवसायी उत्साहित भएको बताउनुभयो । उहाँका अनुसार होटल तथा अन्य पर्यटन व्यवसायमा पाहुनाको चाप बढेको छ ।
“अहिले सौराहामा रहेका पर्यटन व्यवसायी सबै खुसी छन् । कोही सपिङ गर्न गएका छन्, कोही जङ्गल गएका छन्, कोही घुमफिरमा गएका छन् । सबैतिर चहलपहल र दौडधुप देखिन्छ”, उहाँले भन्नुभयो ।
पर्यटकको आगमनले व्यवसायीको मुहारमा खुसी फर्किएको उल्लेख गर्दै गिरीले पछिल्लो समय पाहुनाको चाप बढेको बताउनुभयो ।
सौराहास्थित वाटिका रिसोर्टका व्यवस्थापक लव सापकोटाले पनि दसैँका समयमा विशेषगरी आन्तरिक पर्यटकको आगमन बढेको बताउनुभयो । पाहुनाको सङ्ख्या बढेसँगै कोठा व्यवस्थापन र बुकिङ मिलाउन केही दिनअघिदेखि नै व्यस्तता बढेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार रिसोर्टका सबै कोठा पछिल्ला दुई-तीन दिनदेखि भरिएका छन् । चाडपर्वका समयमा नेपाली पर्यटकको सङ्ख्या बढी रहेको उहाँले बताउनुभयो ।
“पाहुनालाई कोठा उपलब्ध गराउन निकै मुस्किल भइरहेको छ । व्यवस्थापनमा व्यस्तता बढेको छ । अहिले नेपाली पर्यटक नै बढी देखिन्छन्”, सापकोटाले भन्नुभयो ।
पर्यटन व्यवसायी ऋषि तिवारीले गत वर्षको तुलनामा यसपटक दसैँको टीकापछिको समयमा पर्यटकको आगमन राम्रो रहेको बताउनुभयो । सार्वजनिक बिदा र चाडपर्वका कारण सौराहामा पर्यटकको चहलपहल बढेको उहाँको भनाइ छ ।
तिवारीका अनुसार सौराहा भ्रमणमा आउने पर्यटकका लागि जीप सफारी, हात्ती सफारी, राप्ती नदीमा डुङ्गा सयर तथा थारू सांस्कृतिक नाच प्रमुख आकर्षण हुन् । अहिलेको मौसम सौराहा भ्रमणका लागि अनुकूल रहेकाले उहाँले स्वदेशी तथा विदेशी पर्यटकलाई यहाँ आउन आग्रह गर्नुभयो ।
सौराहाबाट चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि जीप सञ्चालन भइरहेका छन् । राप्ती नदीमा डुङ्गा सयर तथा हात्ती सफारीको व्यवस्था छ । डुङ्गा सयरका क्रममा नदीका विभिन्न जलचर तथा चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ । पर्यटकको मागअनुसार हात्ती सफारीलगायत सेवा उपलब्ध गराइने तिवारीले बताउनुभयो ।
“यसपटक मेरो अनुभवमा गत वर्षको भन्दा पनि राम्रोसँग पाहुनाहरू सौराहा आउने क्रम बढेको छ”, उहाँले भन्नुभयो । पर्यटकको आगमन बढ्दा पर्यटन व्यवसायीलाई ठूलो राहत र नयाँ उत्साह मिलेको उहाँको भनाइ छ ।
क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनका पूर्वअध्यक्ष सुमन घिमिरेले दसैँको बिदाका समयमा सौराहालगायत पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढेको बताउनुभयो । उहाँका अनुसार यसपटक आन्तरिकसँगै बाह्य पर्यटकको सङ्ख्या पनि बढेको छ ।
“हामीलाई उत्साह थपेको छ । हिजो, आज सौराहालगायत विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकको सङ्ख्या राम्रो पाएका छौँ”, घिमिरेले भन्नुभयो ।
भोटेकोशीमा आएको बाढीलगायत प्राकृतिक विपत्तिका कारण पर्यटनको मुख्य सिजन सुरु हुन करिब एक महिना ढिलाइ भएको उहाँले बताउनुभयो । बाढीपहिरो र सडकको अवस्थाका कारण पर्यटकका बुकिङ प्रभावित भए पनि पछिल्लो समय आगमन बढ्न थालेको उहाँको भनाइ छ ।
सौराहा चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वारमध्ये एक हो । निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वन घुम्न आउने पर्यटकको प्रमुख बसाइस्थलका रूपमा सौराहा परिचित छ । रासस
