RayNewsDaily
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल   

भोजपुर । गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन कामदार पाउन मुस्किल हुन थालेको छ । खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा किसानले पाकेको धान समयमै भित्र्याउन समस्या भोग्नुपरेको छ ।    
    
 धान खेतीका लागि वर्षभरि मेहनत गरेका किसानलाई बाली भित्र्याउने समयमा कामदार खोज्नुपर्ने बाध्यता परेको छ । वैदेशिक रोजगारी तथा अन्य कामका लागि गाउँबाट युवा बाहिरिएपछि किसानलाई मर्का परेको छ ।    
    
 धान काट्ने, बिटा बाँध्ने, खेतबाट बोकेर खलोमा पु¥याउने, झाँट्ने, बत्ताउने र घरसम्म बोकेर लैजाने काममा शारीरिक रूपमा बलियो जनशक्ति आवश्यक पर्ने भएकाले युवा अभावले किसानलाई समस्या भएको स्थानीय किसानको भनाइ छ ।    
    
 टेम्केमैयुङ गाउँपालिका–६ का किसान बलबहादुर राईले वैदेशिक रोजगारी तथा सहर केन्द्रित बसाइँसराइका कारण गाउँमा युवा जनशक्ति अभाव हुँदै गएको बताउनुभयो । पहिले गाउँघरमै पर्याप्त जनशक्ति पाइने गरेकामा अहिले धान थन्क्याउने समयमा कामदार खोज्न मुस्किल हुने गरेको उहाँको भनाइ छ ।    
    
 “गाउँमा खेती गर्ने युवा घट्दै गएका छन् । धान पाकेपछि काट्ने, बिटा बाँध्ने, बोकेर खलोमा पु¥याउने र झाँटेर घरसम्म भित्र्याउने काममा बलियो जनशक्ति चाहिन्छ । तर, अहिले गाउँमा युवा नहुँदा यी काम गर्न कठिन भएको छ,” उहाँले भन्नुभयो ।    
    
 हतुवागढी गाउँपालिका–२ लुङ्गिनका स्थानीय किसान जयबहादुर थापाले खेतीपातीको काम महिला र ज्येष्ठ नागरिककै भरमा गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । युवा जनशक्ति गाउँमा नहुँदा परिवारका सदस्य मिलेर खेतीको काम धान्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।    
    
 शारीरिक श्रम बढी लाग्ने भएकाले महिला र ज्येष्ठ नागरिकलाई कठिन हुने गरेको किसान बताउँछन् । जनशक्ति अभावमा परिवारकै सदस्यले बढी मेहनत गर्नुपर्ने र काम सम्पन्न गर्न समय लाग्ने गरेको छ ।    
    
 परम्परागत रूपमा गाउँघरमा एकअर्काको खेतीमा सघाउने चलन रहे पनि पछिल्लो समय युवा जनशक्ति घट्दै जाँदा मेलापातबाट काम सम्पन्न गर्न कठिन हुन थालेको छ । पहिले छिमेकी र आफन्त मिलेर पालैपालो धान काट्ने तथा थन्क्याउने गरिए पनि अहिले काम गर्ने मानिसको अभावले किसानले थप समस्या झेल्नुपरेको किसानको भनाइ छ ।    
    
राससका अनुसार  स्थानीय सरकारले युवालाई गाउँमै राख्न सक्दो पहल गर्नुपर्ने र आधुनिक कृषि प्रणाली अबलम्बन गर्न प्रेरित गर्नुपर्ने स्थानीय किसानको भनाइ छ ।   

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update