RayNewsDaily
मुस्ताङको स्याउ बजारमा थुप्रियो, आधा बिक्री नहुँदा किसान र व्यापारी चिन्तित
व्यापारीले खरिद गरेको स्याउ कार्टुनमा प्याक गरी गाडीमा लोड गर्दै
  • बेनी-जोमसोम सडक अवरुद्ध हुँदा स्याउ बजार पठाउन ढिलाइ
  • एक करोड रुपैयाँभन्दा बढीको स्याउ किनेका व्यापारीले आधा मात्रै बेचे
  • १० हजार मेट्रिकटन उत्पादनको अनुमान, बगैँचामा अझै ४० प्रतिशत स्याउ टिप्न बाँकी

मुस्ताङ । मुस्ताङमा यस वर्ष स्याउको उत्पादन राम्रो भए पनि बजारमा समयमै पुर्‍याउन नसक्दा किसान र व्यापारीले समस्या भोग्नुपरेको छ । बेनी-जोमसोम सडकमार्ग अवरुद्ध भएपछि स्याउ बजार पठाउन ढिलाइ हुँदा सोचेजति बिक्री हुन नसकेको हो ।

केही महिनादेखि पोखरा र काठमाडौँलगायत सहरका फलफूल व्यापारीका गोदाममा मुस्ताङको स्याउ थुप्रिएको छ । स्याउ खपत हुने मुख्य समयमा सडक अवरुद्ध भएपछि जिल्लामै रोकिएको स्याउ दसैँको अन्तिम समयमा सडक सञ्चालन भएसँगै एकैपटक बजार पुगेको थियो । घटनस्थापनाको दुई दिनअघि मात्रै बेनी-जोमसोम सडकमार्ग सञ्चालनमा आएको थियो ।

मुस्ताङमा स्याउको व्यापार गर्दै आउनुभएका धादिङको खनियाबाँस गाउँपालिका-३ का व्यापारी राजु तामाङ यस वर्ष स्याउ बिक्री नहुँदा तनावमा पर्नुभएको छ । उहाँले मुस्ताङबाट एक करोड रुपैयाँभन्दा बढी मूल्यको स्याउ खरिद गरे पनि हालसम्म आधा मात्रै बिक्री भएको बताउनुभयो ।

“स्याउ किसानलाई पैसा बुझाइयो, यता स्याउ नबिकेर तनावमा परेको छु”, व्यापारी तामाङले भन्नुभयो, “खै लगानी कसरी उठाउने हो, दसैँ पनि स्याउ बिक्री नहुँदा राम्ररी मनाउन सकिएन ।”

मुस्ताङको स्याउ एकैपटक बजारमा पुग्दा गोदाम र मन्डी भरिएका छन् । यसले स्याउको खपतमा समस्या भएको छ । सडक अवरुद्ध हुँदा बजारमा बिक्री गर्न कठिनाइ भएपछि स्याउको मूल्य र बिक्रीसमेत घटेको छ ।

विगतका वर्षमा असोज अगावै मुस्ताङको स्याउ बिक्री भइसक्थ्यो । तर, यस वर्ष सडक अवरुद्ध हुँदा स्याउ बजार पुग्न ढिलाइ भएको हो ।

यस वर्ष ७०० मेट्रिकटन स्याउ उत्पादन गर्ने लक्ष्य राखेको चिम्ले अर्चार्ड कृषि फार्मका सञ्चालक गुरुङले असोजभित्रै सबै स्याउ बिक्री भइसक्नुपर्ने भए पनि आधा मात्रै बिक्री भएको बताउनुभयो ।

“दसैँसम्म आधा स्याउ मात्रै बिक्री भएको छ, ४० प्रतिशत स्याउ टिपाइ हुन बाँकी छ”, किसान गुरुङले भन्नुभयो, “स्याउ खपत हुन नसक्दा बढी पाकेर बोटबाटै झरेर नष्ट भइरहेको छ । चार सय टनजति स्याउ कोल्ड स्टोरमा राखेको छु ।”

गत वर्ष स्याउको बिक्री तथा व्यवस्थापन राम्रो भए पनि यस वर्ष खपत हुने मुख्य सिजन सकिन लाग्दा चिन्ता बढेको उहाँले बताउनुभयो ।

यस वर्ष छिटो पाक्ने स्याउ भदौ १२ गते र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि टिप्न पाउने जिल्लास्तरीय निर्णय गरिएको थियो । सोही निर्णयअनुसार हरितालिका तीजका अवसरमा २० प्रतिशत स्याउ बजार पठाउन सकिएको थियो ।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार हालसम्म ५० प्रतिशत स्याउ पोखरा, काठमाडौँलगायत सहरमा निकासी भएको छ । यस वर्ष मुस्ताङमा १० हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ ।

कार्यालय प्रमुख डा. लालमणि अर्यालले सडक अवरुद्ध भएका कारण मुस्ताङको स्याउको बजारीकरणमा समस्या परेको बताउनुभयो । बगैँचामा अझै करिब ४० प्रतिशत स्याउ टिप्न बाँकी छ । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update