- मौसम प्रतिकूल हुने पूर्वानुमानपछि धान थन्क्याउन हतारो ।
- धानबालीमा क्षति पुग्न सक्ने भन्दै मङ्गलबारसम्म भित्र्याउन आग्रह ।
- बस्ती विस्तारसँगै हटिया फाँटको खेतीयोग्य जमिन घट्दै ।
बागमती । हेटौँडाका हटिया, चौघडा र कमाने क्षेत्रका किसानलाई धान भित्र्याउने चटारो छ । मौसम प्रतिकूल हुने पूर्वानुमानपछि काटिसकेको धान थन्क्याउन हतारो भएका किसानलाई पाकेको धान काट्ने कि नकाट्ने भन्ने चिन्तासमेत थपिएको छ ।
हेटौँडा उपमहानगरपालिका-१० हटिया फाँटका फणिराज अधिकारीको खेतमा धान पाकिसकेको छ । उहाँलाई पाकेको धान काट्ने वा नकाट्ने भन्ने निर्णय गर्न कठिन भएको छ ।
“खेतमा धान पाकिसकेको छ, मौसम बिग्रने हल्ला छ, काटौँ कि नकाटौँ”, अधिकारीले भन्नुभयो, “मैले १२ कठ्ठा क्षेत्रफलमा धान लगाएको छु । काटौँ कि नकाटौँ भन्ने कुराले छटपटी भएको छ ।”
बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली बलियो बन्दै चक्रवातमा परिणत हुन सक्ने अनुमान गरिएको छ । त्यसको प्रभावले बुधबारदेखि मौसम प्रतिकूल बन्न सक्ने सम्भावना छ ।
पूर्वानुमानअनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा बादल लाग्ने तथा छिटपुट वर्षा हुन सक्नेछ । हिमाली क्षेत्रमा हिमपातको सम्भावनासमेत रहेको छ ।
राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले धानबालीमा क्षति पुग्न सक्ने भन्दै किसानलाई मङ्गलबारसम्म धान थन्क्याउन आग्रह गरेको छ ।
नेपाल मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार बिहीबारदेखि मौसम प्रणालीको प्रभाव थप क्षेत्रमा फैलिने सम्भावना छ । शुक्रबार र शनिबार यसको प्रभाव अझ बढ्न सक्ने विभागले जनाएको छ ।
सम्भावित मौसमलाई ध्यानमा राख्दै केन्द्रले किसानलाई धान काट्ने र भित्र्याउने काममा ढिलाइ नगर्न सुझाव दिएको छ । मौसममा सुधार आएपछि प्राविधिकको सल्लाहअनुसार कृषि कार्य गर्न पनि केन्द्रले आग्रह गरेको छ ।
केही वर्षअघिसम्म नेपालमा मौसमको पूर्वानुमान नमिल्ने गरेको भए पनि पछिल्लो समय पूर्वानुमान मिल्न थालेको किसानहरू बताउँछन् । यसअघि गरिएका पूर्वानुमान मिलेकाले मौसमको अवस्था हेरेर मात्रै कृषि कार्य गर्नुपर्नेमा अधिकांश किसान सचेत रहेको स्थानीयवासी हरि अधिकारीले बताउनुभयो ।
हटिया फाँटमा केही वर्षअघिसम्म पूरै क्षेत्रमा धान खेती हुने गरेको ८० वर्षीय श्रीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्ला वर्षमा बस्ती विस्तार बढ्दै जाँदा खेतीयोग्य जमिन घडेरीमा परिणत हुँदै गएको छ ।
“पहिले यो क्षेत्रको अधिकांश क्षेत्रमा धानखेत मात्रै थियो”, उहाँले भन्नुभयो, “केही वर्षयता विशेष गरी बाटो आसपासका क्षेत्र घरहरूले भरिन थालेका छन् । वर्षेनी खेतीयोग्य जमिन बस्तीमा परिणत भइरहेका छन् ।”
यस क्षेत्रमा बहुबाली खेती हुने गरेको छ । धानपछि तोरी वा आलु र त्यसपछि मकै लगाइने भएकाले वर्षभरि नै कुनै न कुनै बाली खेती हुने गरेको न्यौपानेले बताउनुभयो ।
पछिल्लो समय स्थानीय युवा रोजगारीका लागि विदेश जान थालेपछि कृषि क्षेत्रमा जनशक्तिको अभाव हुन थालेको उहाँको अनुभव छ । धान भित्र्याउनका लागि तराईका विभिन्न क्षेत्रबाट आएका १०० भन्दा बढी मजदुर अहिले हटिया क्षेत्रमा रहेको उहाँले बताउनुभयो ।
मौसमको पूर्वानुमानका कारण धान काटिसकेका किसानलाई भित्र्याउन हतारो भएको छ । तर, खेतमा पाकेको धान नकाटेका किसान भने प्रतिकूल मौसमको सम्भावनाका कारण अन्योलमा रहेको न्यौपानेले बताउनुभयो । रासस
