RayNewsDaily
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण सुस्त, लागत बढेर ८६ करोड पुग्यो
  • पुस २७ सम्म निर्माण सक्नुपर्ने रङ्गशालाको प्रगति ६५ प्रतिशत मात्रै ।
  • बजेट निकासामा ढिलाइ र निर्माण कम्पनीको सुस्तताले काम प्रभावित ।
  • लागत ७८ करोड ५० लाखबाट बढेर ८६ करोड २४ लाख रुपैयाँ पुग्यो, म्याद थप्ने तयारी ।

चितवन । भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माणमा ढिलाइ भएको छ । आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म ६५ प्रतिशत मात्रै काम पूरा भएको छ ।

भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार बजेट निकासामा ढिलाइ हुँदा निर्माण कम्पनीले बीचमा काम रोकेकाले निर्धारित समयभित्र निर्माण सम्पन्न गर्न कठिन भएको हो । रङ्गशाला निर्माणका लागि बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत रकम व्यहोर्ने गरी सम्झौता भएको थियो । प्रदेशबाट बजेट निकासा हुन ढिलाइ हुँदा निर्माण प्रभावित भएको उहाँले बताउनुभयो ।

निर्माण कम्पनीले पनि काममा ढिलाइ गरेकाले पुस मसान्तसम्म निर्माण सम्पन्न हुने अवस्था नदेखिएको पोखरेलको भनाइ छ ।

निर्माण कम्पनीका व्यवस्थापक सम्राट सिलवालले निर्माण सामग्रीको मूल्यवृद्धि, मौसममा आएको परिवर्तन र पुराना संरचनामा निर्माण गर्नुपर्नेलगायतका कारणले काममा ढिलाइ भएको बताउनुभयो । पुरानो संरचनामा निर्माण गर्दा प्राविधिक निर्णयहरू एकापसमा बाझिने समस्या देखिएकाले पनि काम प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।

अहिले मुख्यगरी मैदान निर्माणको काम बाँकी रहेकाले निर्धारित समयमै रङ्गशाला तयार हुने सम्भावना न्यून छ । निर्माण कम्पनीले काम सम्पन्न गर्न भरतपुर महानगरपालिकासँग म्याद थप माग्ने तयारी गरेको छ । सम्झौताको अवधि सकिनुभन्दा ३५ दिनअघि म्याद थपका लागि निवेदन दिनुपर्ने व्यवस्था छ ।

निर्माण अवधि सकिनै लाग्दा रङ्गशालाको पहिलो भेरिएसन अर्डर (भिओ) असोज २८ गते स्वीकृत भएको छ । सुरुमा ७८ करोड ५० लाख ९१ हजार रुपैयाँ (भ्याटसहित) मा ठेक्का सम्झौता भएकोमा लागत बढेर ८६ करोड २४ लाख ८४ हजार रुपैयाँ पुगेको छ । भिओ स्वीकृत भएपछि लागतसँगै निर्माणको कामसमेत थपिएको निर्माण कम्पनीले जनाएको छ । यसले पनि निर्धारित समयमै काम सक्न कठिन भएको कम्पनीको भनाइ छ ।

भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार रङ्गशालामा मुख्यगरी मैदान निर्माणको काम बाँकी छ । मैदानमा चार तह माटो राखेर त्यसभित्र पाइप जडान गर्नुपर्नेछ । त्यसपछि नरम माटो राखेर बरुणा नामको घाँस रोपिनेछ ।

दुईवटा टावरको काम अन्तिम चरणमा पुगेको छ । चारवटा प्यारापिटमध्ये दुईवटा निर्माण सम्पन्न भएका छन् । तेस्रो प्यारापिटको ९० प्रतिशत र चौथोको ७० प्रतिशत काम पूरा भएको छ । विद्युत् जडानको काम पनि बाँकी छ ।

निर्माण कम्पनीले नियमित रूपमा काम गरे धेरै समय नलाग्ने आचार्यले बताउनुभयो । अहिले दैनिक करिब ८० जना कामदार निर्माणस्थलमा खटिएका छन् । दसैँको समयमा समेत काम जारी रहेको उहाँले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारले विसं २०८१ असार २४ गते हिमालयन-कालिञ्चोक बिबीआर जेभीसँग सम्झौता गरी रङ्गशाला निर्माण अघि बढाएका थिए । धुर्मुस-सुन्तली फाउन्डेसनले आर्थिक अभावका कारण निर्माणलाई निरन्तरता दिन नसक्ने जनाउँदै दायित्व महानगरलाई सुम्पिएपछि महानगरले प्रदेश सरकारको ७० प्रतिशत र आफ्नो ३० प्रतिशत लगानी सुनिश्चित गरी अलपत्र अवस्थामा रहेको रङ्गशाला निर्माण अघि बढाएको थियो ।

चितवनमा राष्ट्रियस्तरको क्रिकेट क्लब चितवन राइनोज रहेकाले तथा पछिल्लो समय नेपाल प्रिमियर लिग (एनपिएल) प्रति आकर्षण बढेकाले अन्तर्राष्ट्रियस्तरका खेल चितवनमा आयोजना गर्न रङ्गशाला छिटो सम्पन्न गर्नुपर्ने दबाब छ ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले निर्माण कम्पनीलाई महानगरका तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले निर्माण छिटो सम्पन्न गर्न कम्पनीलाई आग्रह गर्दै आएको जानकारी दिनुभयो । गत आर्थिक वर्षमा भुक्तानीमा केही ढिलाइ भए पनि अन्य काममा महानगरले सहजीकरण गरेको उहाँको भनाइ छ ।

“रङ्गशाला छिटो सम्पन्न गर्न हामीले निर्माण कम्पनीलाई भनिरहेका छौँ, अब धेरै ढिलो हुँदैन,” उहाँले भन्नुभयो ।

देशभर क्रिकेटको लोकप्रियता बढिरहेको अवस्थामा रङ्गशाला छिटो निर्माण सम्पन्न गरी भरतपुरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजना गर्न महानगर आतुर रहेको अधिकारीले बताउनुभयो । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update