RayNewsDaily
अमेरिकी संसदीय टोलीसँग सभामुख अर्यालको भेट, विपद् व्यवस्थापन र लगानीमा जोड
  • नेपाल-अमेरिका सम्बन्ध, आर्थिक साझेदारी र संसदीय सहकार्यबारे छलफल ।
  • जलवायुजन्य विपद् सामना गर्न अन्तर्राष्ट्रिय सहयोग र सहकार्य बढाउन सभामुखको आग्रह ।
  •  दुई देशबीचको संसदीय कूटनीति सुदृढ बनाउने विषयमा विचार आदानप्रदान ।

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एन्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

सभामुख अर्यालको सचिवालयका अनुसार भेटका क्रममा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग, आर्थिक साझेदारी, जलवायु परिवर्तनबाट उत्पन्न विपद् व्यवस्थापन तथा संसदीय सहकार्यलगायत साझा चासोका विषयमा विचार आदानप्रदान भएको थियो ।

सो अवसरमा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी बाढीबाट उत्पन्न विपद् व्यवस्थापनका लागि सरकारले हरसम्भव प्रयास गरेको उल्लेख गर्नुभयो । उहाँले विपद्को कठिन घडीमा अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि धन्यवाद दिनुभयो ।

सभामुख अर्यालले तान्जानियाको आरुषामा हालै सम्पन्न अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा नेपालका तर्फबाट प्रस्तुत ‘जलवायुसम्बन्धी विपद्को सामना गर्न तथा हिमालय क्षेत्र र अन्य जोखिममा रहेका क्षेत्रको उत्थानशीलता सुदृढ गर्न तत्काल संसदीय पहल’ विषयक आपत्कालीन एजेन्डा दुई तिहाइभन्दा बढी मतसहित पारित भएको जानकारी गराउनुभयो ।

जलवायु परिवर्तनका कारण विपद्को उच्च जोखिममा रहेका क्षेत्रको क्षति न्यूनीकरण, विपद् पूर्वतयारी तथा उत्थानशीलता सुदृढ गर्न अन्तर्राष्ट्रिय र अन्तरसंसदीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

जलवायुसम्बन्धी विपद्को सामना गर्न अनुदानमा मात्र निर्भर नभई आर्थिक तथा प्राविधिक क्षमता भएका राष्ट्रले जिम्मेवारीपूर्वक सहकार्य र सहयोग गर्नुपर्ने धारणा पनि सभामुख अर्यालले राख्नुभयो ।

नेपाल-अमेरिका सम्बन्धलाई परम्परागत अनुदान सहयोगमा मात्र सीमित नराखी लगानी तथा आर्थिक साझेदारी अभिवृद्धितर्फ अघि बढाउनुपर्ने उल्लेख गर्दै उहाँले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न र लगानीकर्ताको मनोबल उच्च राख्न आवश्यक नीतिगत तथा कानुनी सुधारका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

सभामुख अर्यालले अमेरिकी संसद्मा रहेका संसदीय ककस तथा नेपाल-अमेरिका संसदीयमैत्री समूहबीच निरन्तर सहकार्य र संवाद अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । संसदीय भ्रमण तथा आदानप्रदानले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र संसदीय कूटनीति प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले अमेरिकी प्रतिनिधिमण्डललाई नेपाल भ्रमण गरेकोमा धन्यवाद दिनुभयो ।

भेटका क्रममा अमेरिकी संसदीय प्रतिनिधिमण्डलले भोटेकोशी बाढीबाट नेपालले भोग्नुपरेको क्षतिप्रति सहानुभूति व्यक्त गरेको थियो । प्रतिनिधिमण्डलले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो दुःख व्यक्त गरेको थियो ।

प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले समृद्ध नेपाल भ्रमणले आफूहरूलाई नयाँ ऊर्जा थपेको उल्लेख गर्दै प्रतिनिधिमण्डलले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध सुमधुर तथा विश्वासमा आधारित रहेको बताएको थियो ।

प्रतिनिधिमण्डलले नेपालको आर्थिक, सामाजिक, भौतिक तथा मानवीय विकासमा निरन्तर सहयोग गर्न र दुई देशबीचको संसदीय कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउन इच्छुक रहेको धारणा व्यक्त गरेको थियो ।

भेटका अवसरमा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र संसदीय सुनुवाइ समितिका सभापतिसमेत सहभागी हुनुहुन्थ्यो । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update