- ४५ रोपनीमा सयपत्री खेती, ४५ महिला आबद्ध ।
- गत वर्ष नौ लाखको फूल बिक्री, यस वर्ष १० लाखको लक्ष्य ।
- प्रतिकिलो चार सय रुपैयाँसम्ममा बिक्री, बजारको माग बढ्दै ।
दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ आँधीमूल यान्चोकका महिलाले यस वर्षको तिहारमा रु १० लाख मूल्य बराबरको सयपत्री फूल बिक्री गर्ने लक्ष्य राखेका छन् ।
सामूहिक रूपमा व्यावसायिक फूलखेती गर्दै आएका महिलाले गत वर्ष रु नौ लाख बराबरको फूल बिक्री गरेका थिए । तिहार नजिकिएसँगै आँधीमूलका खेतबारी सयपत्री फूलले पहेँलपुर बनेका छन् । अहिले त्यहाँका महिला फूल टिप्ने, बिक्रीका लागि तयारी गर्ने र भण्डारण गर्ने काममा व्यस्त छन् ।
टिपिएका फूललाई बिक्रीको समयसम्म ताजा राख्न चिस्यान केन्द्रमा भण्डारण गरिएको समूहका अध्यक्ष सुन्तली गुरुङले बताउनुभयो ।
तीन वर्षअघि स्थानीय महिलाले सुरु गरेको व्यावसायिक सयपत्री फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ । यसमा ४५ जना महिला आबद्ध छन् । सामूहिक फूलखेती उनीहरूको आम्दानीको स्रोत बन्नुका साथै आर्थिक आत्मनिर्भरतातर्फ अघि बढ्ने अवसरसमेत बनेको गुरुङले बताउनुभयो ।
फूलखेतीको उत्पादन र क्षेत्रफल बढ्दै गएपछि बजारबाट माग आउन थालेको छ । पहिलो चरणमा टिपिएको फूलमध्ये ५० किलोको माग आएको थियो । दमौलीमा कोसेली घर सञ्चालन गर्दै आएकी उद्यमी कल्पना गौलीले उक्त फूल खरिद गरिसक्नुभएको छ ।
गुरुङका अनुसार फूलखेतीलाई निरन्तरता दिँदै उत्पादन बढाउन र बजार विस्तार गर्न सके महिलाको आम्दानीमा थप वृद्धि गर्न सकिन्छ । स्थानीयस्तरमै सयपत्री फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने निर्भरता घटाउन पनि सहयोग पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार फूल प्रतिकिलो रु चार सयसम्ममा बिक्री हुने गरेको छ ।
तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले महिलाले उत्पादन र बिक्रीलाई सोहीअनुसार व्यवस्थापन गरिरहेका छन् । फूल टिपेर चिस्यान केन्द्रमा राख्ने व्यवस्थाले बिक्रीका लागि तयार पारिएको फूल ताजा राख्न सहयोग पुगेको गुरुङले उल्लेख गर्नुभयो ।
आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार व्यावसायिक फूलखेतीका लागि बजारको समस्या छैन । स्थानीय महिलाले उत्पादन गरेको फूलको माग आउन थालेपछि उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुगेको उहाँले बताउनुभयो ।
सामूहिक प्रयास, बजारको माग र चाडपर्वमा हुने फूलको खपतलाई आधार बनाएर आँधीमूलका महिला यस वर्षको बिक्री लक्ष्य पूरा गर्ने तयारीमा छन् ।
तिहारमा घर, मठमन्दिर र सार्वजनिकस्थल सजाउन प्रयोग हुने सयपत्री फूलको व्यावसायिक खेतीले स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै महिलाको आम्दानी बढाउने सम्भावना देखाएको छ । रासस
