काराकास । भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोले सोमबार निर्वासनबाट आश्चर्यजनक रूपमा फर्केपछि देशका अन्तरिम राष्ट्रपतिसँग बसेर कुराकानी गर्न तयार रहेको बताउनुभएको छ ।
विपक्षी नेता माचाडो लगभग एक वर्षको निर्वासनपछि आइतबार कराकास अवतरण गर्नुभएको हो । उहाँको यो आगमन अमेरिकी समर्थन प्राप्त सरकारलाई सिधा चुनौती दिने खालको थियो र उहाँको आगमनले भेनेजुयलामा खुसीयाली मनाउने भीड तान्न सफल भएको छ । हजारौँ मानिसहरूले राजमार्ग, सहरका टोल प्लाजा र सडकहरूमा भेनेजुएलाका झण्डा हल्लाउँदै र ‘स्वतन्त्रता!’ को नारा लगाउँदै उहाँको स्वागत गरेका छन् । कार र मोटरसाइकलको समूहसहितको राजधानी प्रवेश गर्दै गर्दा हँसिलो मुद्रामा माचाडो आफ्नो चिनारी सेतो टी-शर्ट र नीलो जिन्स लगाएर उहाँले आफू चढेको सवारीको ‘सनरूफ’बाट हात हल्लाउँदै समर्थकहरूलाई अभिवादन गर्नुभएको थियो ।
उहाँले कैयौँसँग हात मिलाएर भीडमा आफ्नो सामान्य स्वरूपलाई देखाउने प्रयास गर्नुभएको थियो ।
सोमबार माचाडोले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग शान्तिको लागि हात मिलाई सम्बन्ध अघि बढाउनुभएको छ । उहाँले आफ्ना प्रमुख प्रतिद्वन्द्वी राष्ट्रपति निकोलस मादुरोका उपराष्ट्रपतिको रूपमा काम गरेका महिलासँग वार्ता गर्न खुला रहेको बताउनुभएको छ । मादुरोलाई अमेरिकाले पक्राउ गरी उहाँमाथि विभिन्न अभियोग दर्ता गरेको छ।
माचाडोकी प्रवक्ता क्लौडिया मासेरोले स्थानीय रेडियो युनियन रेडियोसँग भन्नुभयो, “माचाडोले डेल्सी (रोड्रिगेज) सँग मात्र होइन, जससँग बस्नुपर्ने हो उहाँसँग पनि देशको अगाडि पूर्ण पारदर्शिताका साथ एजेन्डासहित बस्न तयार रहेको व्यक्त गर्नुभएको छ।
युरोपेली संघले उनको फिर्तीको स्वागत गरेको छ।युरोपेली संघका परराष्ट्र मामिला प्रवक्ता अनुवार एल अनौनीले भन्नुभयो, “हामी विश्वास गर्छौं कि भेनेजुएलाका अधिकारी र सबै राजनीतिक नेतृत्वले यो अवसरलाई समातेर स्वतन्त्र र निष्पक्ष निर्वाचनतर्फ भेनेजुएला नेतृत्वको समावेशी संवाद अगाडि बढाउनेछन्।”
माचाडो गत डिसेम्बरमा नोबेल शान्ति पुरस्कार लिन देश छाडेर विदेश जानुभएको थियो । त्यसअघि उहाँ लगभग एक वर्ष भूमिगत रहनुभएको थियो । त्यसयता ५९ वर्षीया माचाडोले भेनेजुएला फर्कन कम्तीमा सात पटक असफल प्रयास गरेको उहाँको पार्टीका स्रोतहरूले बताएका छन्। उहाँ फर्किएको देश धेरै परिवर्तन भइसकेको छ-नौ महिनाअघि मादुरोलाई असाधारण अमेरिकी सैन्य अपरेशनमा पक्रेर अमेरिकामा जेल हालिएको थियो। तर लोकतान्त्रिक विपक्षीहरूको अपेक्षा विपरीत उहाँकी उपराष्ट्रपति डेल्सी रोड्रिगेज अमेरिकी आशीर्वादसहित अन्तरिम राष्ट्रपति बन्नुभएको छ । त्यसयता माचाडो पनामामा निर्वासनमा बसेर अमेरिकी समर्थन प्राप्त राजनीतिक संक्रमण वार्ता आफूबिना भइरहेको हेर्न बाध्य हुनुहुन्थ्यो ।
अन्तरिम सरकारले निर्वाचनको वाचा गरेको छ तर अहिलेसम्म मिति तोकेको छैन। माचाडोले जोखिमपूर्ण अपरेशन सुरु गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारम्बार प्रशंसा गर्नुभएको छ र उहाँले आफूले पाएको नोबेल पदक समेत उपहार दिनुभएको थियो ।
ट्रम्पले रोड्रिगेजले अमेरिकी मुख्य मागहरू, विशेष गरी भेनेजुएलाको तेल पहुँच दिएकोमा सन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ। ट्रम्पले आइतबार माचाडो फर्केको थाहा नभएको बताउनुभएको थियो । एएफपी
