- चीनसँग सम्बन्ध सुधारलाई प्राथमिकता दिएका फुकुदाको निधन ।
- सन् २००७ देखि २००८ सम्म जापानको प्रधानमन्त्री ।
- चीनका राष्ट्रपतिसँगको संवाद र सम्बन्ध सुधारका प्रयासका लागि परिचित ।
टोकियो । चीनसँग सम्बन्ध सुधार गर्ने प्रयासका लागि परिचित जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ । उहाँको निधन अक्टोबर २२ मा भएको जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीका एक अधिकारीले एएफपीलाई बताएका छन् ।
फुकुदाले सन् २००७ सेप्टेम्बरदेखि एक वर्ष जापानको नेतृत्व गर्नुभएको थियो । उहाँले १२ महिनामै पहिलो कार्यकाल समाप्त गर्नुभएका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेको स्थान लिनुभएको थियो ।
प्रधानमन्त्री रहँदा फुकुदाले चीनसँगको सम्बन्ध सुधारलाई प्राथमिकता दिनुभएको थियो । उहाँले तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओलाई जापान भ्रमणको निमन्त्रणा दिनुभएको थियो । सन् २००८ मेमा भएको उक्त भ्रमण एक दशकपछि जापान भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रप्रमुखको भ्रमण थियो ।
भ्रमणका क्रममा दुवै नेताले ‘साझा रणनीतिक हितमा आधारित पारस्परिक लाभदायक सम्बन्ध’ निर्माण गर्ने प्रतिबद्धतासहित संयुक्त वक्तव्य जारी गर्नुभएको थियो ।
लोकप्रियता घटेपछि फुकुदाले सन् २००८ सेप्टेम्बरमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । उहाँले सन् २०१२ मा सक्रिय राजनीतिबाट अवकाश लिनुभएको थियो ।
विवादित टापु र ऐतिहासिक मुद्दालाई लिएर जापान र चीनबीचको सम्बन्ध बिग्रँदै गएपछि फुकुदा सन् २०१४ मा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गर्न चीन जानुभएको थियो । उहाँको उक्त पहलले सी र आबेबीच शिखर बैठकका लागि मार्ग प्रशस्त गरेको थियो । एएफपी
