- निर्वासनपछि स्वदेश फर्किँदा हजारौँ समर्थकले लगाए ‘स्वतन्त्रता’को नारा ।
- सन् २०२७ मा निर्वाचन गराउन र राष्ट्रपतीय प्रतिस्पर्धामा सहभागी हुन माग ।
- मदुरो पक्राउ परेपछि भेनेजुएलामा राजनीतिक सङ्क्रमण ।
काराकस । भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडो करिब एक वर्षको निर्वासनपछि आइतबार स्वदेश फर्किनुभएको छ ।
उहाँको स्वागतमा हजारौँ समर्थकले राष्ट्रिय झण्डा फहराउँदै ‘स्वतन्त्रता’को नारा लगाएका थिए । मचाडोको पुनरागमनलाई राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको भेनेजुएलामा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ । उहाँका समर्थकहरूले निर्वाचनको माग गरिरहेका बेला अन्तरिम सरकारले चुनावको मिति भने तय गरेको छैन ।
मचाडो गत डिसेम्बरमा नोबेल पुरस्कार ग्रहण गर्न देश छाड्नुभएको थियो । उहाँको पार्टीका अनुसार स्वदेश फर्कने उहाँका कम्तीमा सात प्रयास असफल भएका थिए ।
उहाँका राजनीतिक प्रतिद्वन्द्वी राष्ट्रपति निकोलस मदुरो नौ महिनाअघि अमेरिकी सैन्य कारबाहीमा पक्राउ परेपछि अमेरिकाको जेलमा हुनुहुन्छ । त्यसपछि मदुरोकी सहयोगी डेल्सी रोड्रिगेज अन्तरिम राष्ट्रपति बन्नुभएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मचाडोको स्वदेश फिर्तीबारे आफूलाई जानकारी नभएको बताउनुभएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने वार्तामार्फत भेनेजुएलामा स्वतन्त्र तथा निष्पक्ष निर्वाचन र स्थायी लोकतन्त्र स्थापना गर्ने अवसर रहेको बताउनुभएको छ ।
मचाडोको पार्टीले सन् २०२७ मा निर्वाचन गराउन र उहाँलाई राष्ट्रपतीय प्रतिस्पर्धामा सहभागी हुन दिन माग गरेको छ । निर्वाचनपछिको दमनमा २८ जनाको मृत्यु भएको र दुई हजार चार सयभन्दा बढी पक्राउ परेको विवरण छ ।
विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको भेनेजुएलामा हाल दैनिक करिब १० लाख ब्यारेल कच्चा तेल उत्पादन भइरहेको छ । एक दशकअघि त्यहाँ दैनिक ३० लाख ब्यारेल तेल उत्पादन हुने गरेको थियो ।
अन्तरिम सरकारले अमेरिकी तथा विदेशी कम्पनीलाई तेल र ग्यासको खोजी, उत्पादन तथा निर्यातमा पहुँच दिने सम्झौता गरेको छ । एएफपी
