- साउनदेखि हालसम्म २३ पुरुष र सात महिला पक्राउ ।
- १० किलोभन्दा बढी अफिम र पाँच किलोभन्दा बढी चरेस बरामद ।
- शिवराजबाट खैरो हेरोइनजस्तो पदार्थसहित एक महिला पक्राउ ।
कपिलवस्तु । कपिलवस्तुमा चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि हालसम्म लागूऔषध कारोबारसम्बन्धी १५ वटा मुद्दामा ३० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा २१ ग्राम २१० मिलिग्राम खैरो हेरोइनसहित विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको छ ।
लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेमा २३ पुरुष र सात महिला छन् । प्रहरीले सो अवधिमा पाँच किलो २२५ ग्राम चरेस, १० किलो ३६४ ग्राम अफिम र १३० ग्राम गाँजा बरामद गरेको विवरणमा उल्लेख छ ।
त्यसैगरी, प्रहरीले २० वटा नाइट्राभेट, आठ वटा स्पास्मो र कोडिन सिरपको एक बोतल बरामद गरेको छ ।
प्रहरीले गएराति कपिलवस्तुको शिवराज नगरपालिका-२ हल्लानगरबाट खैरो हेरोइनजस्तो पदार्थसहित २३ वर्षीया अस्मिता बोहरालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले बोहराको घरमा खानतलासी गर्दा उक्त पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो । रासस
