RayNewsDaily
धनुषामा पति-पत्नी मृत फेला, चार वर्षीय छोराको तिघ्रामा धारिलो हतियारको घाउ
एआई निर्मित सांकेतिक तस्वीर ।
  • माइतीघरमा बस्दै आएकी महिलाको घाँटीमा धारिलो हतियारको घाउ ।
  • पति घरदेखि करिब एक किलोमिटर टाढा रूखमा झुण्डिएको अवस्थामा मृत फेला ।
  • घटनाको प्रकृति शङ्कास्पद, प्रहरीले थाल्यो अनुसन्धान ।

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका-३ मथिलेश्वरमा पति-पत्नी मृत फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ । उहाँको हत्या भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।

उहाँका पति ३५ वर्षीय उमेश यादव आज बिहान घरदेखि करिब एक किलोमिटर टाढा रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

मिथिला बिहारी नगरपालिका-४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक पति-पत्नीका चार वर्षीय छोरा छन् । बालकको एउटा तिघ्रामा पनि धारिलो हतियार प्रहार भएको घाउ देखिएको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।

उहाँका अनुसार घटनाको प्रकृति शङ्कास्पद देखिएको छ । “घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ,” उहाँले भन्नुभयो । घटनाको कारण तथा मृत्युको परिस्थितिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३  १२:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update