- अल्बर्टाको सैन्य शिविरमा आगलागी हुँदा चार सैनिकको मृत्यु ।
- १९ जना गम्भीर घाइते, आगलागीको कारण पत्ता लगाउन एक महिना लाग्ने ।
- आगलागीपछि वेनराइटको अग्रिम मतदान केन्द्र बन्द ।
वेनराइट (क्यानाडा) । क्यानाडाको अल्बर्टा प्रान्तस्थित सैन्य शिविरमा आगलागी हुँदा चार सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
प्रधानमन्त्री मार्क कार्नीले उक्त घटनालाई शान्तिकालमा क्यानाडाली सशस्त्र सेनाले सामना गरेका गम्भीर दुर्घटनामध्ये एक बताउनुभएको छ ।
शनिबार अपराह्न सैन्य प्रशिक्षण क्षेत्रमा सुरु भएको आगो तीव्र गतिमा फैलिँदा अभ्यासरत सैनिकहरू प्रभावित भएका थिए । अधिकारीहरूका अनुसार घटनामा १९ जना गम्भीर घाइते भएका छन् ।
मेजर जनरल वेड रटल्यान्डले आगलागीको कारण पत्ता लगाउन कम्तीमा एक महिना लाग्न सक्ने बताउनुभयो । प्रारम्भिक निरीक्षणमा ऊर्जा पूर्वाधारमा क्षति पुगेको सङ्केत नदेखिएको र बाह्य हस्तक्षेपको आशङ्का नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री कार्नीले घाइतेहरूको उपचारमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेटोको सैन्य समितिका अध्यक्षले पनि मृतकका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । घटनापछि एडमन्टनस्थित अस्पतालमा घाइतेको चाप बढेको थियो ।
आगलागीका कारण अल्बर्टामा भइरहेको अग्रिम मतदानसमेत प्रभावित भएको छ । क्यानाडाबाट अलग हुने विषयमा भविष्यमा जनमतसङ्ग्रह गर्ने प्रक्रिया अघि बढाउने कि नबढाउने भन्ने प्रस्तावमा सोमबार मतदान हुँदैछ । निर्वाचन व्यवस्थापन निकायले आगलागीपछि वेनराइटस्थित अग्रिम मतदान केन्द्र बन्द गरिएको जनाएको छ । एएफपी
