- पोखराको जलधारे औषधि पसलबाट चार प्रकारका लागुऔषध बरामद
- कोडिनका ६ हजार ४०० सहित सात हजारभन्दा बढी चक्की बरामद
- २९ वर्षीया सञ्चालिकामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइयो
कास्की । पोखरामा औषधि पसलको आवरणमा प्रतिबन्धित लागुऔषधको कारोबार हुने गरेको फेला परेको छ । पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलबाट ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि यस्तो कारोबार बाहिर आएको हो ।
प्रहरीले उक्त औषधि पसलकी सञ्चालिका २९ वर्षीया अमिसा ढुङ्गानालाई लागुऔषधका चक्कीसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार बुधबार लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले औषधि पसलमा जाँच गरेको थियो । जाँचका क्रममा सञ्चालिकाको साथबाट चार प्रकारका लागुऔषध बरामद गरिएको हो ।
प्रहरीका अनुसार ढुङ्गानाको साथबाट कोडिप–पी (कोडिन) का छ हजार ४०० चक्की, प्रेगाबालिनका ४५० चक्की, लोराजेपामका १५० चक्की र क्लोर्डियाजेपोक्साइडका १६० चक्की बरामद भएका छन् । चार प्रकारका औषधिका गरी जम्मा सात हजार १६० चक्की बरामद गरिएको प्रहरीले जनाएको छ ।
“लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा फार्मेसीमा छापा मारेका थियौँ । सोही क्रममा ठूलो परिमाणमा लागुऔषध फेला पर्यो,” प्रनाउ पासवानले भन्नुभयो ।
औषधि बिक्री तथा वितरणका लागि सञ्चालनमा रहेका फार्मेसीबाटै लागुऔषधजन्य औषधि ठूलो परिमाणमा बरामद हुनुले औषधिको बिक्री, वितरण र प्रयोगको नियमन तथा अनुगमन प्रभावकारी हुनुपर्ने आवश्यकतालाई उजागर गरेको उहाँले बताउनुभयो ।
पक्राउ परेकी औषधि पसल सञ्चालिका ढुङ्गानामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
पोखरामा यसअघि पनि विभिन्न समयमा फार्मेसीबाटै लागुऔषधको कारोबार हुने गरेको फेला परेको थियो । प्रहरीले त्यस्ता औषधि पसलका सञ्चालकलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाउँदै आएको छ । रासस
