RayNewsDaily
बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु
  • कक्स बजारको तीनतले काठको रिसोर्टमा आगलागी ।
  • आगो निभाएपछि छ जनाको शव फेला ।
  • आगलागीको कारण खुल्न सकेन, अनुसन्धान जारी ।

ढाका । बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा शनिबार बिहान भीषण आगलागी हुँदा छ जनाको मृत्यु भएको छ ।

ढाकास्थित अग्नि सेवा तथा नागरिक सुरक्षा विभागको मुख्यालयका अधिकारी तल्हा बिन जसिमका अनुसार आगो निभाएपछि घटनास्थलबाट छ जनाको शव निकालिएको हो । कक्स बजार राजधानी ढाकाबाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा पर्दछ ।

उहाँका अनुसार काठले बनेको उक्त रिसोर्टका तीनवटै तलामा आगलागीबाट क्षति पुगेको छ ।

अधिकारी जसिमका अनुसार स्थानीय समयअनुसार शनिबार बिहान ७ः२५ बजे आगलागीको सूचना प्राप्त भएपछि दमकल टोली तत्काल घटनास्थल पुगेको थियो । अग्नि नियन्त्रकहरूले बिहान करिब ११ः०० बजे आगो पूर्ण रूपमा निभाएका थिए ।

आगलागीको यकिन कारण अझै पत्ता लाग्न नसकेको अधिकारीहरूले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ । सिन्ह्वा

प्रकाशित मिति: शनिबार, असोज ३१, २०८३  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update