- मौसमका कारण चार महिनादेखि रोकिएको उडान सुरु ।
- काठमाडौँबाट १३ यात्रु बोकेर विमान गुल्मीमा अवतरण ।
- नेपाल वायुसेवा निगमले सातामा तीन दिन उडान गर्ने ।
गुल्मी । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि अवरुद्ध गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ ।
रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठको तेस्रो सातादेखि हवाई उडान अवरुद्ध भएको थियो । खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडानमा समस्या आउन सक्ने भएकाले सेवा रोक्नुपरेको उहाँले बताउनुभयो ।
हवाई सेवा पुनः सञ्चालन भएसँगै मङ्गलबार काठमाडौँबाट १३ यात्रु बोकेर विमान गुल्मीमा अवतरण भएको थियो । गुल्मीबाट भने दुई यात्रु लिएर विमान काठमाडौँ फर्किएको छ ।
नेपाल वायुसेवा निगमले मौसम अनुकूल भएसँगै सातामा तीन दिन उडान गर्ने गरी नयाँ तालिका निर्धारण गरेको छ । लामो समयदेखि हवाई सेवा प्रभावित हुँदा वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामले काठमाडौँ जानुपर्ने यात्रु बढी समस्यामा परेका थिए ।
रेसुङ्गा विमानस्थलमा निगमले १८ सिट क्षमताको ट्विनअटर विमानमार्फत काठमाडौँ-गुल्मी र गुल्मी-काठमाडौँ उडान गर्दै आएको छ ।
निगमले आजदेखि उडानको समयसमेत परिवर्तन गरेको छ । नयाँ तालिकाअनुसार आइतबार र मङ्गलबार काठमाडौँबाट रेसुङ्गाका लागि बिहान ७ः१५ बजे तथा रेसुङ्गाबाट काठमाडौँका लागि बिहान ८ः१५ बजे उडान हुनेछ । शुक्रबार काठमाडौँबाट रेसुङ्गाका लागि बिहान ६ः२० बजे र रेसुङ्गाबाट काठमाडौँका लागि बिहान ७ः२० बजे उडान हुने तालिका छ ।
निगमले काठमाडौँबाट गुल्मीका लागि रु. १० हजार ७१० र गुल्मीबाट काठमाडौँका लागि रु. १० हजार ५१० हवाई भाडा निर्धारण गरेको छ ।
हवाई सेवा पुनः सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमनसमेत सहज हुने अपेक्षा गरिएको छ । सडकमार्गबाट काठमाडौँ पुग्न १२ देखि १६ घण्टासम्म लाग्ने यस क्षेत्रका नागरिक हवाई यात्रामार्फत ४५ देखि ५० मिनेटमै राजधानी पुग्न सक्नेछन् ।
नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक हवाई सेवा सुरु गरेको थियो ।
पछिल्लो समय इन्धनको मूल्यवृद्धि, सडक पूर्वाधारको स्तरोन्नति र आरामदायी सार्वजनिक यातायातका साधन सहज रूपमा उपलब्ध हुन थालेपछि रेसुङ्गा विमानस्थलबाट हवाई यात्रा गर्ने यात्रुको सङ्ख्या घटेको बताइएको छ । रासस
